१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरकारको नीति तथा कार्यक्रमबाट एनआरएनए उत्साहित

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७९, बुधबार १३:२७

लण्डन । राष्ट्रपति विद्धा देवी भण्डारी हिजो मंगलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमबाट गैरआवासीय नेपाली संघ उत्साहित भएको छ ।

संघको तर्फबाट अध्यक्ष कुल आचार्यद्धारा मंगलवार जारी बिज्ञप्ति मार्फत गैरआवासीय नेपाली संघले उठाउंदै आएका विषयहरु समावेश भएकोमा संघले खुशी व्यक्त गरेको हो ।

विज्ञप्तिमा नीति तथा कार्यक्रम कार्यान्वयन गरिए गैरआवासीय नेपालीहरुले लामो समयदेखि रोकिएका काम पूर्ण हुने आशा र विश्वास हामीले लिएका छौं। साथै नेपाल र नेपालीको हितका लागि नेपाल सरकारसंग हातेमालो गर्न गैरआवासीय नेपाली समुदाय सधैं तत्पर रहेको पनि दोहोर्याउन चाहन्छौं उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रेस विज्ञप्ति

नेपालका सम्माननीय राष्ट्रपति विद्धा देवी भण्डारीज्यूद्वारा हिजो मंगलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली संघले उठाउंदै आएका विषयहरु समावेश भएकोमा हामी उत्साहित भएका छौं।

खास गरी संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुंगोमा पुराउने नेपाल सरकारको प्रतिबद्धताको हामी स्वागत गर्दछौं। यसबाट लामो समयदेखि थाती रहेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने हामीले विश्वास लिएका छौं। संसद्को चालु बजेट अधिवेशनबाटै नागरिकता विधेयक पारित गरी गैरआवासीय नेपाली नागरिकताको विषयलाई तार्किक निष्कर्षमा पुराउन हामी नेपाल सरकार तथा सबै राजनीतिक दलहरुलाई आग्रह गर्दछौं। हामीले हालै प्रधानमंत्री कार्यालयमा सरकारको नीति तथा कार्यक्रममा समेट्न दिएको ८ बुंदे सुझाव मध्ये धेरै सुझावहरु समेटिएकोमा हामी नेपाल सरकार प्रति आभार प्रकट गर्दछौं ।

नीति तथा कार्यक्रममा विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने, कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गर्ने तथा गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने जस्ता विषय उल्लेख गरिएका छन्। यस्तै, सरकारले निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीहरुलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

नीति तथा कार्यक्रमको अन्त्यमा नेपालको विकासमा सहयोग पु-याउने छिमेकी लगायत सबै मित्रराष्ट्रहरु, विकास साझेदारहरु र गैरआवासीय नेपाली समुदायलाई पनि धन्यवाद दिइएको छ।

यो नीति तथा कार्यक्रम कार्यान्वयन गरिए गैरआवासीय नेपालीहरुले लामो समयदेखि रोकिएका काम पूर्ण हुने आशा र विश्वास हामीले लिएका छौं। साथै नेपाल र नेपालीको हितका लागि नेपाल सरकारसंग हातेमालो गर्न गैरआवासीय नेपाली समुदाय सधैं तत्पर रहेको पनि दोहोर्याउन चाहन्छौं ।

कुल आचार्य
कार्यकारी अध्यक्ष

रविना थापा
अध्यक्ष

डा. बद्री केसी

अध्यक्ष

मिति २०७९ जेठ ११