६ बैशाख २०८१, बिहीबार
Follow Us

गोर्खा कपको विजेता बन्यो एफसी केन्ट, भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लब

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७९, आईतवार १०:०३

लन्डन । २० औं गोर्खा कपको विजेता एफसी केन्ट भएको छ ।

तमुधिं यूकेले आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा गरेको २० औं गोर्खा कप फुटबल प्रतियोगितामा एफसी केन्टले पहिलो उपाधि हासिल गरेको हो ।

यसपटक १६ देखि ३९ वर्ष उमेर समूहको मेन क्याटेगोरीमा ३२, भेटानतर्फ ८ र लेडिज मेनमा दुई टिमबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा लन्डन आसपासबाहेक वेल्स, कोलचेष्टर, अक्सफोर्ड, योर्क, क्याटरिकसहित बेलायतका विभिन्न शहर र नेदरल्याण्डबाट समेत टिम सहभागी थिए ।
मेन विधातर्फ एफसी केन्ट विजेता बन्यो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा राङभाङ समाज यूकेलाई २–१ गोलअन्तरले पराजित गर्दै एफसी केन्टले उपाधि जितेको हो । जीतसँगै एफसी केन्टले नगद २५ सय पाउन्ड, शिल्ड, ट्रफी र प्रमाणपत्रसहित पुरस्कार प्राप्त गरयो ।
उता, गोर्खाकपमा पहिलोपटक सहभागी राङभाङले फाइनलसम्मको रोमाञ्चक यात्रा तय गर्दै उपविजेता बन्न सफल भयो । राङभाङले नगद १५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्रसहितको दोस्रो पुरस्कार पायो ।

त्यस्तै, प्रतियोगिताको भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विजेता बन्यो । बीबीसीले नगद १५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरयो । भेट्रान विधाको उपविजेता इलाम एफसीलाई नगद ८ सय पाउन्डसहितको पुरस्कार मिल्यो।
गोर्खाकपमा यो वर्ष पहिलोपटक प्रतिस्पर्धा गराइएको महिला विधामा मनोक्रान्ति टिम विजेता बन्दै नगद ५ सय पाउन्ड पुरस्कार प्राप्त गरेको छ ।
महिलातर्फ उपविजेता ‘म खेल्छु’ समूहले तीन सय पाउन्ड नगदसहित दोस्रो पुरस्कार पायो ।
गोर्खाकपको यो संस्करणमा मेन विधामा मिलन राई, भेट्रानमा खुम गुरुङ र महिलामा काजा उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । उत्कृष्ट म्यानेजरमा प्रेम गुरुङ छनोट भए ।

गोर्खाकपमा यो वर्ष पहिलोपटक गराइएको ठेलो प्रतिष्पर्धामा निरज गुरुङ विजेता र मानबहादुर गुरुङ उपविजेता भए । भेट्रानतर्फ भने श्याम गुरुङ विजेता र आशबहादुर गुरुङ उपविजेता बने ।
गोर्खा मोर्गेजेज्, पिपल मोर्गेजेज्, आइएमइ लन्डन लगायतले ति पुरस्कार प्रायोजन गरेका थिए ।
गोर्खा कपमा प्यारासुट डिस्प्ले, तमु परम्परागत पोशाक र अन्य सामग्रीको स्टल, खाना र च्यारिटी स्टल, आर्ट एण्ड क्राफट स्टल, सयपत्री सांस्कृतिक समूहको सांस्कृतिक प्रस्तुति, गायिका एलिना गुरुङको गायन आदि मुख्य आकर्षण रहे ।
गोर्खा कपमा इंग्ल्याण्डकै क्लब टोटेनहम हटस्परमा आवद्ध फुटबलर सुश्री अस्मिता आले पनि सहभागी भएकी थिइन्।
औपचारिक कार्यक्रमका प्रमुख अतिथी रसमोर बरो मेयर काउन्सिलर जोन मार्सले आफ्नो क्षेत्रमा नेपाली समुदायको बाक्लो उपस्थितिप्रति प्रसन्न हुंदै नेपालीले रसमोरलाई क्रियाशिल बनाइरहेको बताए ।

विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गोर्खा कपले नेपाली कला संस्कृति र परम्परा जगेर्ना एवं प्रवर्धनमात्र होइन्, यसले बेलायती समुदायसंग अन्तरघुलनका लागि विशेष भूमिका खेलेको बताइन् ।
कार्यक्रमको अध्यक्षता गरेका तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले गोर्खा कपले नेपाली समुदायलाई एकवद्ध गरेको बताए ।
उनले गोर्खा कपको मुल उद्देश्य नेपाली युवालाई कुलततिर लाग्नबाट जोगाउने, समुदायमा अन्तरघुलन र नेपाली व्यवसाय एवं कला संस्कृति संरक्षण गर्नु रहेको बताउंदै खेलाडी, दर्शक, प्रायोजक, अतिथी र स्वयंसेवकहरुप्रति आभार व्यक्त गरे ।

महासचिव परशुराम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा संयोजक एवं स्पोर्टस से क्रेटरी क्याप्टेन देव घलेले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा बेलायती भेट्रान मिनिष्टर लियो डोकर्टी, प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, दूतावासका द्धितिय सचिव रामबाबु नेपाल, एनआरएनए अध्यक्ष कुल आचार्य, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, काउन्सिलरहरु प्रवेश केसी, जीव बेल्वासे, जित रानाभाट, लक्ष्य गुरुङ, विष्णु गुरुङ, मगर संघ यूके अध्यक्ष सीता पुन, बुद्ध फाउण्डेशन यूके अध्यक्ष दिपक श्रेष्ठ लगायतको उपस्थिती थियो ।


फोटो- मिलन तमु