१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए यूएईको विवाद टुंगियो, अध्यक्षतामा ढुंगाना

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७९, बिहीबार १९:२४

लण्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए) यूएईमा नेतृत्वको जिम्मेवारी ठाकुर प्रसाद ढुंगानालाई दिइएको छ।

सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको संघका केन्द्रीय अध्यक्ष डा बद्री केसीले जानकारी दिए।

‘यूएई एनसीसीमा लामो समयदेखि देखा परेको विवाद अब टुंगिएको छ । धेरै प्रयास र पहलपछि सहमतिका आधारमा नयाँ कार्यसमिति बनाइएको हो। यो कार्यसमितिले आइसीसीसँगको समन्वयमा राम्रोसँग काम गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ डा केसीले भने।

केही दिनअघि बर–दुबई कार्लटन होटलमा संघका मध्यपूर्व क्षेत्रीय संयोजक मनोजकुमार श्रेष्ठ (गोर्खाली) को अध्यक्षता सम्पन्न भेलाले ढुंगानाको नेतृत्वमा ५७ सदस्यीय समिति निर्विरोध चयन गरेको हो। अध्यक्ष ढुंगाना व्यवसायी हुन्।

नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा चयन भएका छन्। यसैगरी उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, नरेश सेन, मदन अधिकारी, जीवन दास, सुजन सापकोटा, शोभा शर्मा, नोमान सिद्दिकी, रमेश ढकाल, केशव नेपाल, कृष्णप्रसाद पौडेल र कृष्ण ठाकुर चयन भएका छन्। यस्तै सोनम श्रेष्ठ महिला उपाध्यक्ष बनेकी छिन्।

त्यस्तै दीपक खड्कालाई महासचिवको जिम्मेवारी दिइएको छ। यसैगरी सचिवमा पुस्कर शर्मा सापकोटा,सुमन पराजुली, बिरेन्द्र नर्कमी, मुन्ना साम्सुल, निरञ्जन खत्री, ताराबहादुर बोहरा र कुमार लम्साल रहेका छन्।

यस्तै बिष्णुलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन् भने रमेश गौतम र प्रकास थापा सह–कोषाध्यक्ष भएका छन्।

यसैगरी युवा संयोजकमा भिम मल्ल ठकुरी चयन भएका छन् भने युवा सह–संयोजकमा अपिल भट्टराई र शम्भु पोख्रेल चुनिएका छन्। भेलाले पूर्व अध्यक्ष समेत रहेका रमेश श्रेष्ठलाइ प्रमुख संरक्षकको जिम्मेवारी दिएको छ।

आन्तरिक विवादका कारण एनसीसी यूएईको अधिवेशन पटक–पटक विथोलिएको थियो। विवादकै कारण झण्डै एक वर्षदेखि एनसीसी यूएई नेतृत्वविहीन रहन पुग्यो।

भेलामा केन्द्रीय अध्यक्ष डा केसी आफै दुबई पुगेका थिए। यस्तै उपाध्यक्ष धर्मराज खतिवडा, युरोप संयोजक ललितकुमार न्यौपाने र रसियाका अध्यक्ष शिवमणि भुर्तेल पनि भेलामा अतिथिका रुपमा सहभागी थिए।