७ बैशाख २०८१, शुक्रबार
Follow Us

पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार ०५:३५

लन्डन । चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ । शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक- एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहिन रहे । बाकी समय दुबै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् । जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्रो स्थानमा छ ।

स्पेनको पहिलो जित
स्वीजरल्यान्डलाई १–० अन्तरले पराजित गर्दै स्पेनले यूएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । शुक्रबार रातिको जितसँगै समूह ए२ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको हो । भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे ।

उनले १३औं मिनेटमा मार्काेस लोरेन्टेको पास सदुपयोग गरे । बाँकी समयमा दुबै टोलीले गोल गर्न नसक्दा स्पेनले १–० को जित पायो । प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित स्विजरल्यान्ड तीन खलबाट बिना कुनै अंक पुछारमा छ ।

नर्वे रोकियो, स्विडेन पराजित
बिहीबार राति भएको खेलमा स्विडेन पराजित हुँदा नर्वे गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदान उलेभालमा भएको खेलमा नर्वे १० खेलाडीमा सिमित स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भयो । स्लोभेनियाका मिहा ब्लाजिकले ६३ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडे ।

यता, अर्काे खेलमा स्विडेन घरेलु मैदानमा सर्वियासँग १–० ले पराजित भयो । सर्वियाको जितमा लुका जोभिकले गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक सावित भयो । खेलसँगै समूह बी ४ मा नर्वे तीन खेलबाट ७ अंक सहित शीर्षस्थानमा छ । समान खेलबाट ६ अंकको सर्विया दोस्रो स्थानमा छ । यता, तीन अंकको स्विडेन र १ अंकको स्लोभेनिया क्रमशः तेस्रो र चोथो स्थानमा छन् ।