७ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचन मिति घोषणा गर्न कांग्रेस माओवादी सहमत, तर आज नहुने

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७३, आईतवार ०६:०५

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सत्तारुढ दल नेपाली कांगे्रस र माओवादी केन्द्र सहमत भएका छन् । तर मिति आजै घोषणा नहुने लगभग निश्चितजस्तै छ । स्थानीय तहको संख्या थपघट गरेर मधेशी मोर्चालाई आश्वस्त पार्ने, स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्नेलगायतका प्राविधिक विषयमा टुंगो लागिसकेपछि मात्र निर्वाचन घोषणा गरिने बालुवाटार स्रोतले बतायो ।
सरकारले आजै चुनावको मिति घोषणा गर्ने बताए पनि हिजो मधेशी मोर्चासँगको वार्ता तथा प्राविधिक समस्यालाई समाधान गरेपछि मात्र मिति घोषणा गर्ने निष्कर्षमा सरकार पुगेको बताइन्छ ।
प्रधानमन्त्रीले संविधान कार्यान्वयनका निम्ति स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नभएको भन्दै संविधान संशोधन र निर्वाचन प्रक्रियालाई सँगसँगै अघि बढाउने तयारी गरेका छन् । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच स्थानीय चुनावको मिति घोषणा गर्ने अनौपचारिक सहमति यसअघि नै भैसकेको छ । निर्वाचन आयोगले आगामी जेठ महिनाको १ र २१ गते गरी दुई चरणमा स्थानीय तहको चुनाव गराउने औपचारिक प्रस्ताव सरकारलाई गरिसकेको छ ।