७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७९, आईतवार ०६:००

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाको खेल ‘टाइ’ (बराबरी) मा टुंगिएको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपालले दोस्रो खेलमा आयोजक टोली अमेरिकासँग बराबरी गर्दै अंक बाँडेको हो ।

अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा आज बिहान सकिएको खेलमा नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि खेल बराबरीमा टुंगिएको हो । जितको लागि २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन मात्रै बनायो ।

अमेरिकालाई अन्तिम ओभरमा ६ रन चाहिँएको अवस्थामा आदिल अन्सारीले पाँच रन खर्चिदै खेल ‘टाइ’ गराए । अन्तिम ओभरको पाँचौ र छैटौं बलमा अमेरिकाका दुई जना व्याट्सम्यान आउट भएपछि खेल टाइ भयो । खेलमा अमेरिकाको लागि स्टेभेन टेलरले ११४, मोनाङ्क पटेलले ८५, आरोन जोन्सले २६, सुशान्त मोदानीले १७ तथा राहुल जरिवालाले १० रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

नेपालका आदिल अन्सारीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा आलआउट हुनुपूर्व २ सय ७४ रन जोडेको थियो ।

नेपालका रोहित पौडेलले ६२ रन बनाउँदा आसिफ शेखले ६१ रन तथा देव खनालले ५४ रन जोडे । यस्तै, कुशल भुर्तेल १९ रन आउट भए भने कप्तान सन्दीपले १० रन बनाए । अमेरिकाका रस्टी थेरनले ४, अलि खान र सौरभ नेत्रभाल्करले २/२ तथा निसर्ग पटेल र यासिर मोहम्मदले १/१ विकेट लिए ।