१५ चैत्र २०८०, बिहीबार
Follow Us

रोनाल्डोबिना पोर्चुगलको हार

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७९, सोमबार ०५:३३

लन्डन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ । घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन् । हारसँगै पोर्चुगलले समूह ए२ को शीर्षस्थानमा उक्लने मौका गुमायो । ४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । स्विजरल्यान्ड ३ अंक सहित पुछारमा छ । समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्षस्थानमा छ ।

चेक रिपब्लिकविरुद्ध स्पेनको सहज जित
आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकविरुद्ध २–० को सहज जित निकालेको छ । समूह ए२ को खेलमा अधिकांश समय बलमा पकड बनाएको स्पेन जितसँगै शीर्षस्थानमा उक्लिएको हो । स्पेनको जितमा कार्लाेस सोलर र पाब्लो सरवियाले एक-एक गोल गरे । कार्लाेसले २४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए ।

७५औं मिनेटमा सरवियाले गोल गर्दा स्पेनले सहज जित पायो । जितसँगै समूहमा चार खेलसँगै ८ अंक बनाएको स्पेन शीर्षस्थानमा छ । लगातार खराव प्रदर्शनबाट गुज्रिएको चेक रिपब्लिकले चार खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

हालान्डको दुई गोलमा नर्वेको रोमान्चक जित
आइतबार राति भएको खेलमा नर्वेले स्विडेनलाई ३–२ अन्तरले पराजित गरेको छ । रोमान्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे । स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे । जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह बी४ मा शीर्षस्थानमा छ । स्विडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ ।