८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा ‘कोभिड १९ कथाहरु’ र ‘अ जोर्नी अफ इनोसेन्स’ दुई कृति विमोचन

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७९, सोमबार १९:०८

बेलायतको वेष्ट बाइफ्लीटस्थित हवेली रेष्टुरेन्टमा आइतबार दुईवटा पुस्तक विमोचन गरिएको छ । नेपाल सेन्टर इन्टरनेशनलद्वारा प्रकाशित ‘कोभिड १९ कथाहरु’ र ‘अ जोर्नी अफ इनोसेन्स’ नामक दुईवटा पुस्तकको एक विशेष समारोहकाबीच विमोचन गरिएको हो । प्रमुख अतिथि यती नेपाली एसोसिएसन यूके अध्यक्ष ध्रुव केसी, विशेष अतिथि एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का एवं नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मलकुमार थापाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । विमोचित पुस्तकमध्ये ‘कोभिड १९ कथाहरु’ ३१३ पृष्ठको नेपाली भाषामा र ४६५ पृष्ठको ‘अ जोर्नी अफ इनोसेन्स’ अंग्रेजी भाषामा प्रकाशित छन् ।

‘कोभिड १९ कथाहरु’ मा २६ वटा कथा समावेश छन्,जसमा नेपाल सेन्टर बेलायत,क्यानाडा, अमेरिका, अष्ट्रेलिया, मेक्सिकोलगायतका मानिसहरुको भावना र कोभिडले पुर्याएको असर तथा यसको परिणामको भोगाइलाई समेटिएको छ । कोरोनाका कथा व्यथा मात्र नभएर कोरोनाले उपलब्ध गराइदिएको समयमा उब्जिएको सृजनाका रुपमा यो पुस्तक तयार भएको प्रकाशकले जनाएका छन् । उक्त संग्रहमा कोभिडले उब्जाएको व्यथा, यसले दिएको पीडा, क्षति र यसको दीर्घकालिन असरबारे लेखकले विभिन्न कोणबाट मूल्यांकन गरेका छन् । पुस्तक भावी पुस्ताका लागि पनि मार्गदर्शन बन्ने अपेक्षा छ ।

कार्यक्रममा प्रमुख अतिथि ध्रुव केसीले ‘कोभिड १९ कथाहरु’ ले कोरोनाको कहरलाई उजागर गर्नुका साथै प्रवासमा नेपाली कला संस्कृति, भाषा र साहित्यको समेत प्रवर्धन गरेको भन्दै प्रकाशक नेपाल सेन्टर इन्टरनेशनको प्रशंशा गरेका थिए । पुस्तकले कोरोना महामारीका हरेक गतिविधिलाई समेटेको हुँदा निकै सन्देशमूलक रहेको पनि केसीले बताए ।

विशेष अतिथि एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्काले च्यारिटी र नेपाली कला संस्कृति प्रवर्द्धनका कार्यक्रमलाई आफूले विगत देखि नै सहायता गर्दै आएको जनाउँदै श्रष्टाहरुलाई बधाई दिए । खड्काले प्रवासमा रहेका नेपालीले आफ्नो तर्फबाट स्वदेशका लागि केही योगदान गर्ने दायित्व कहिल्यै भुल्न नहुने बताए ।

नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मलकुमार थापाले आफ्नो संस्थाको उद्देश्य र योगदानको बारेमा प्रकाश पारे । नेपाल सेन्टर इन्टरनेशनलका बेलायत, क्यानाडा, अमेरिका, अष्ट्रेलिया, मेक्सिको, भारत, चीन र नेपालमा शाखा रहेको र उक्त संस्थाले विदेशमा नेपाली संस्कृतिको प्रवर्द्धनसम्बन्धी विविध गतिविधि गर्दै आएको उनले बताए ।

कार्यक्रम संचालिका तथा ‘कोभिड १९ कथाहरु’ अन्तर्गत ‘वारेसनामा’ कथाको लेखिका संगीता स्वेच्छाले कृतिको समीक्षा गरेकी थिइन् । कथाहरु वास्तविक र समय सान्दर्भिक रहेको बताउँदै कतिपय कथा निकै मर्मस्पर्शी रहेको बताइन् । उनले सोहि पुस्तकमा समावेश ‘मलामी’ कविताको वाचन गरेकी थिइन् । यसैगरी ‘अ जोर्नी अफ इनोसेन्स’ पुस्तकबारे स्नेहा श्रेष्ठले छोटकरी समिक्षा गरेकी थिइन् ।