१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अस्ट्रेलियामा रहेका नेपालीको कथामा ‘डलर एयूडी’

नेपालब्रिटेन संवाददाता
२ असार २०७९, बिहीबार ०५:२०

काठमाडौं । कोरोना कम भएपछि विदेशी भूमिबाट पनि नेपाली चलचित्रको चहलपहल सुरु भएको छ । यसै क्रममा अस्ट्रेलियाबाट नयाँ नेपाली चलचित्र ‘डलर एयूडी’को निर्माण सुरु भएको छ । छायांकनमा जानुअघि यो चलचित्रको काठमाडौंमा निर्माण घोषणा गरिएको छ ।

एएसएपी इन्टरटेन्मेन्टले यसअघि अस्ट्रेलियामा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको थियो । यही कम्पनी यति बेला चलचित्र निर्माणमा उत्रिएको हो । यस चलचित्रमा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको मुख्य भूमिका रहनेछ ।

यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गर्दै छन् । फिल्मलाई सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । चर्चित फिल्म ‘आमा’मा सहलगानी गरेका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

नेपालबाट अस्ट्रेलिया जाने नेपालीको जीवन कथाको विषयमा यो फिल्म निर्माण हुँदै छ । त्यहाँ डलर कमाउन नेपालीले गर्ने संघर्षको आरोह अवरोहको कथा फिल्ममा देख्न पाइने निर्माता अधिकारीको कथन छ । यसको सहनिर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अञ्जना अधिकारी, तृष्णा गुरुङलगायत रहेका छन् ।

फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । पट्कथा चे शंकरले तयार पारेका छन् । अस्ट्रेलियन छायाकार रायको सिनेमाटोग्राफी, मनोरञ्जन श्रेष्ठको सम्पादन, अजयकुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत रहने चलचित्रको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिनेछ ।