१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए सचिव टीका गुरुङ बेलायतमा सम्मानित

नेपालब्रिटेन डट कम्
६ असार २०७९, सोमबार २३:४४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) की सचिव टीका गुरुङ (राधिका) बेलायतमा सम्मानित भएकी छन् ।

गुरुङलाई सोमवार फानवरोमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघको अभियानमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघको उपमहासचिव रामशरण सिम्खडाले असहज र विषम परिस्थितिकाबीच संघको १० औं महाधिवेशन सम्पन्न भएको बताउँदै संस्थालाई बिभाजनतिर लैजान भन्दा बीचको बाटोबाट तीन जना अध्यक्ष मानेर सहमतिको बाटो निकालिएको बताए । उनले गैरआवासीय नेपाली संघ एउटै रहेको भन्दै कहिकतै भ्रममा नपर्न आग्रह गरे ।

कार्यक्रमकी अतिथि टीका गुरुङले गैरआवासीय नेपाली संघले कोभिड महामारीमा देशको लागि उल्लेख्य काम गरेको स्मरण गर्दै विश्वभर छरिएका नेपालीहरुले सोचेभन्दा बढी प्रभावकारी रुपमा स्वास्थ्य सामग्री नेपाल पठाउन सकेको बताइन् । उनले गैरआवासीय नेपाली संघको अभियानले विश्वभरका नेपालीहरुलाई एउटै संजालमा ल्याएर आफ्नोपन दिएको बताइन् ।

उनले संघको १० औं महाधिवेशनका सम्बन्धमा अधिकांश राष्ट्रिय समिति स्पष्ट रहे पनि एक दुईवटा भने पर्ख र हेरको अवस्थामा रहेको तर्क गर्दै हिमालय होटलमा सम्पन्न संघको महाधिवेशन आधिकारिक भएको बताइन् ।

गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सिनाले संघको अभियानमा गुरुङले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा सकृय रुपमा संघको अभियानमा लाग्न आग्रह गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष सुनिल खड्काले संघको १० औं महाधिवेशनपछि केही राष्ट्रिय समितिमा अझै अन्योल रहेको बताउँदै एनआरएनए यूके कहाँ उभिएको छ भन्ने विषय अझै स्पष्ट नभएको बताए । उनले संघलाई दले र घलेको उपनामले चिनाउने गरेको चर्चा गर्दै दलहरुको सहमतिमा बनेको कार्यसमिति र पूर्वअध्यक्ष शेष घलेको सकृयतमा बनेको समितिका कारण समाजमा अन्योल सृजना भएको बताए ।

कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, संघको केन्द्रीय सदस्यहरु एलएन पाण्डे, दिनेश घिमिरे, गैरआवासीय नेपाली संघ यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङलगायतले आआफ्नो भनाईहरु राखेका थिए ।

संघकी महिला संयोजक संगीता मरहट्ठाले संचालन गरेको कार्यक्रममा तमुधीं यूकेका पूर्वअध्यक्ष कमल गुरुङ, बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठ, एनआरएनए यूकेका निवर्तमान महासचिव फडिन्द्र भट्टराई, पूर्वकोषाध्यक्ष दिलराज गुरुङ लगायतको उपस्थिति थियो ।