६ बैशाख २०८१, बिहीबार
Follow Us

हाँसो बोकेर आयो घनचक्कर

नेपालब्रिटेन संवाददाता
१० असार २०७९, शुक्रबार ०४:५०

काठमाडौं । कोरोनाअघि नै छायांकन भएको नेपाली चलचित्र ‘घनचक्कर’ शुक्रबारबाट देशव्यापी रिलिज हुने भएको छ । आफ्नो चलचित्र मुलुकका ७ दर्जनभन्दा बढी सिनेमा हलबाट एकसाथ रिलिज हुन लागेको यसका निर्माता हरि भट्टले राजधानीलाई बताए । चलचित्र घनचक्करले एकल रिलिज हुने अवसर पाएको छ ।

यो चलचित्रको बिहीबार काठमाडौंमा प्रिमियर सो गरिएको छ । चलचित्रले प्रिमियर सोमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । नामानुसारको यो चलचित्र निकै रमाइलो बनेको सम्बन्धित सिनेकर्मीले प्रतिक्रिया दिए ।

यस चलचित्रका मुख्य अभिनेता सौगात मल्लले फिल्म हेरेपछि भने, ‘यो चलचित्र निकै रमाइलो बनेको छ । अहिलेको अवस्थामा दर्शकलाई सिनेमाले पूरा हँसाउँदै भरपुर मनोरञ्जनसँगै केही महत्वपूर्ण सन्देश पनि दिनेछ ।’

सौगात मल्ल, सलोन बस्नेत, ममत प्रधान, जेबी डीसी, प्रवण भुसाल, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, जनक घर्तीमगर, दामोदर पौडेललगायतको मुख्य भूमिका यो चलचित्रमा रहेको छ ।

भट्ट एन्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । आफूले दर्शकलाई एउटा सकारात्मक चलचित्र बनाएको निर्देशक जितेन्द्रले प्रिमियर सोमा बताए ।

सुसन प्रजापति खिचेको सिनेमामा अर्जुन सिंहको कथा, काजी लिम्बूको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डी गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्म्सले नेपालभर वितरण गर्दै छ ।

हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको सिनेमामा करुना अर्याल र संगम भट्टको लगानी छ । घनचक्करमा अनुपम द्विवेदी, अनुपजंग खड्का र सन्तोष सेढाई सह–निर्माताको रूपमा रहेका छन् ।