४ बैशाख २०८१, मंगलवार
Follow Us

अभिनेत्री स्वरालाई ज्यान मार्ने धम्की

नेपालब्रिटेन संवाददाता
१७ असार २०७९, शुक्रबार ०५:४०

भारतीय अभिनेत्री स्वरा भास्करलाई एक पत्र मार्फत ज्यान मार्ने धम्की दिइएको छ । स्वरा आफ्नो अभिनयका साथै सामाजिक घटनाहरूमा आफ्नो धारणा राख्न पोख्त छिन् । उनी हरेक दिन सामाजिक सञ्जाल ट्वीरमा सेयर गरेका टिप्पणीका कारण चर्चामा छिन् । कहिलेकाँही आफ्ना विचारका कारण उनी आलोचित समेत हुने गर्छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार स्वरालाई हालै एक पत्र प्राप्त भएको छ । जसमा उनलाई ज्यान मार्ने धम्की दिइएको छ । उक्त पत्र मुम्बईको वर्सोवास्थित स्वराको घरमा पठाइएको हो । पत्र प्राप्त भएपछि स्वराले प्रहरीमा उजुरी दिएकी छन् । स्वराले ज्यान मार्ने धम्कीले भरिएको पत्रलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । पत्रलाई सार्वजनिक गरेसँगै सबै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू स्वराको समर्थनमा उत्रिएका छन् ।

ज्यान मार्ने धम्कीले भरिएको पत्रलाई हिन्दी भाषामा हातले लेखिएको छ । उक्त पत्रमा स्वरालाई भारतीय नेता वीर सावरकरको अपमान गरेको भन्दै चेतावनी दिइएको छ । स्वरालाई वीर सावरकरको अपमान सहन हुने छैन भन्दै गालीगलौज सहित ज्यान मार्ने धम्की दिइएको छ । पत्रको अन्त्यमा ‘यस देशको नौजवान ’ लेखेर हस्ताक्षर गरिएको छ ।

स्वराले उजुरी दिए पश्चात प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान सुरु गरिसकेको छ । केही समय अगाडि अभिनेता सलमान खान र उनको बाबु शलिम खानलाई पनि यस्तै ज्यान मार्ने धम्कीले भरिएको पत्र प्राप्त भएको थियो ।