१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूकेको गतिविधि अवैधानिकः केन्द्रीय पदाधिकारीहरु

नेपालब्रिटेन डट कम्
२० असार २०७९, सोमबार १२:५३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारीहरुले एनआरएनए यूकेका पछिल्ला गतिविधिहरु पूर्ण रुपमा अवैधानिक भएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेका महासचिव खुशी लिम्बुले शनिवार साँझ आब्हान गरेको आकस्मिक बैठकमा बोल्ने संघका केन्द्रीय पदाधिकारी तथा आइसीसी सदस्यहरुले एनआरएनए यूकेले सदस्यता शुल्क नतिर्नु, व्यापक छलफल विना साधारणसभा बोलाउने, संघका केन्द्रीय पदाधिकारीहरुलाई कार्यक्रममा प्रतिबन्ध लगाउने लगायतका गतिविधि अवैधानिक भएको बताएका हुन् । ।

एनआरएनए यूकेको पछिल्लो विवादबारे केन्द्रीय पदाधिकारीहरुलाई जानकारी दिने उद्देश्यले महासचिव लिम्बुको सक्रियतामा आब्हान गरेको बैठकमा बोल्नेले अध्यक्ष प्रेम गाहामगरले शिलशिलाबद्ध तरिकाले विधान उल्लंघन गरेको आरोप लगाए।

संघका उपाध्यक्ष डा. हेमराज शर्माले संघको अन्तर्राष्ट्रिय समन्वयन परिषदको ८२ औं बैठकको निर्णयबाटै एनआरएनए यूके अवैधानिक भइसकेको बताए । उनले एनआरएन यूके बैधानिक र व्यवहारिक रुपमै समाप्त भएको बताए । उनले आइसीसी पदाधिकारीहरु, पूर्वअध्यक्ष र कार्यसमितिका सदस्यहरुसमेत एनआरएनए यूकेको वैधानिकता सकिएकाले
बैठकमा सहभागी हुन नसक्ने बताए ।

उपाध्यक्ष डा. शर्माका अनुसार एनआरएनए यूके संघको केन्द्रीय नीति विपरित हिडेको छ । उनले यथास्थितिमा एनआरएनए यूकेअघि बढ्न नसक्ने भन्दै ठूलो सम्भवना बोकेको एनआरएनए यूकेको शाख गिरेकोप्रति चिन्ता व्यक्त गरे ।

संस्थापक सचिव चिरन्जीवी ढकालले एनआरएनए यूकेले आइसीसीको विधान र नियमलाई मानेर जानुपर्नेमा जोड लिए । उनले एनसीसी र आइसीसीको विधि र विधानभन्दा माथि कोही नहुने बताए । काही नभएको जात्रा हाडी गाउँमा भनेजस्तै आइसीसी पदाधिकारीहरुलाई प्रतिबन्ध लगाएर एनआरएन यूके अघि बढ्न नसक्ने तर्क ढकालको छ ।

संघका उपमहासचिव रामशरण सिम्खडाले एनआरएनए यूकेले बाटो बिराएको प्रति दुःख व्यक्त गरे । उनले सत्यको लडाईमा अविचलित भएर सदस्यहरुलाई अघि बढ्न आग्रह गरे । उनले आफु सत्यको पक्षमा उभिने बताए ।

संघका युरोप संयोजक सन्तोष भट्टराईले एनआरएनए यूकेको विवाद टुंगाउन गैरआवासीय नेपाली संघले अध्यक्ष कुल आचार्यको संयोजत्वमा उच्चस्तरीय समिति गठन गरेको जानकारी दिए । उनले गैरआवासीय नेपाली संघको विधान मिच्ने जोकोहीलाई छुट्ट नहुने भन्दै एनआरएनएको सम्बन्धन प्राप्त कार्यसमितिले मात्र केन्द्रले मान्यता दिने उनको भनाइ थियो ।

संघका कोषाध्यक्ष फडिन्द्र पन्तले सामान्य विषयलाई असामान्य रुपमा अघि बढाएको बताए । उनले एनआरएनए यूकेको विवाद मिलाउन पूर्ण रुपमा सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै महासचिव लिम्बुले गाहाले कार्यसमितिको बैठक समेत आफ्नो मनोपली तरिकाले बोलाउने गरेको बताए । उनले महिला तथा युवा र बाढी पीडितका लागि संकलित रकम समेत गोलमाल गरेको बताए । उनले एनआरएनए यूकेको नाममा ६ अगष्टमा आयोजना हुने साधारणसभा अवैधानिक हुने बताए ।

संघका कुल आचार्य समेतलाई आमन्त्रण गरिएको कार्यक्रममा संघको केन्द्रीय अध्यक्ष डा. बद्री केसी, कार्यक्रममा संघका केन्द्रीय युवा उपाध्यक्ष रोशन थापा, कोषाध्यक्षद्वय लोक दाहाल, फडिन्द्र पन्त, युरोप संयोजक सन्तोष भट्टराई, महिला संयोजक संगिता मरहट्टा, आइसीसी सदस्यहरु एलएन पाण्डे, दिनेश घिमिरे, महेश अधिकारी, कृष्ण ढकाल, संस्थापक सचिव चिरन्जीबी ढकाल, एनआरएनए वेल्सका अध्यक्ष कृष्ण भण्डारी, पूर्वआइसीसी सदस्य अर्कराज तिमल्सीना लगायतको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित संघका अध्यक्ष डा. बद्री केसीले बैठकमा उपस्थित भए पनि आफ्ना विचार राखेनन् । कार्यक्रममा बोल्ने अधिकांशले एनआरएनए यूकेको विवाद मिलाउन ढिला गर्न नहुने भन्दै संघको सहयोगका लागि आग्रह गरेका थिए ।