११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायती पर्यटकलाई नेपाल भ्रमणको निम्तो

नेपालब्रिटेन डट कम्
२२ असार २०७९, बुधबार १९:०७

लन्डन । बेलायती पर्यटकहरुलाई नेपाल भित्रयाउन लन्डनस्थित नेपाली दूतावासले पहल शुरु गरेको छ । कोभिड महामारीपछि पहिलोपटक प्रत्यक्ष कार्यक्रम गरि दूतावासले नेपालको पर्यटन प्रवर्धनका लागि पहल गरेको हो ।

नेपालको अर्थतन्त्र उकास्न पर्यटनका सम्भावनाबारे दूतावासमा मंगलबार सांझ आयोजित कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको प्राकृतिक सौन्दर्य वर्णन गर्दै नेपाल विदेशी पर्यटक स्वागत गर्न आतुर रहेको जनाए । राजदूत आचार्यले कोभिड महामारीपछि नेपालको पर्यटन पुनर्जिवित हुने चरणमा रहेको उल्लेख गर्दै बेलायती पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिए ।‘भर्चुअल’ रुपमा काठमाडौंबाट जोडिएका नेपाल पर्यटन बोर्डका अफिसिएटिङ डिरेक्टर लक्ष्मण गौतमले स्लाइड शोमार्फत नेपालका विशेषता औंल्याए ।

नेपालको भौगोलिक अवस्था चित्रणदेखि नेपालीको अतिथी सत्कार, संस्कृति, पर्यटकका प्रमुख आकर्षण, नेपालमा उपलब्ध सेवा सुविधा आदिबारे चर्चा गर्दै गौतमले नेपाल भ्रमण गर्ने बेलायतीको संख्या अन्य देशको तुलनामा अग्रपंक्तिमा रहेको पनि बताए ।

भर्चुअल रुपमै सहभागी अर्का वक्ता नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट्स (नाटा) का अध्यक्ष रमेश थापाले नेपालको पर्यटकीय आकर्षणबारे अवगत गराउंदै नेपाल पर्यटकका लागि विश्वमै उत्कृष्ट गन्तव्य रहेको बताए । उक्त कार्यक्रममा बीबीसी मास्टर सेफ द प्रोफेशनल्सका फाइनलिष्ट सेफ सन्तोष शाहले नेपाली खाना विश्वमा परिचित गराउन आफू लागिरहेको जनाउंदै नेपाल जस्तो उत्कृष्ट गन्तव्य र खानाका परिकार अन्यत्र नभएको धारणा राखे।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा बेलायतका लागि नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठ, लेखक तथा पत्रकार जो बाइन्डलस, ट्राभल कन्सोलका सञ्चालक बिराज भट्ट, एओल एड्भेन्चरका अपरेसन्स् म्यानेजर ड्यान राइट लगायतले नेपालको पर्यटन विशेषता औंल्याउंदै नेपाल भ्रमण गर्न बेलायतीलाई प्रेरित गरेका थिए ।कार्यक्रममा सेफ सन्तोष शाह, कोभिड महामारीका बेला अंग्रपंक्तिमा खटिएका स्वयंसेवक र स्वास्थ्यकर्मीहरुलाई एक लाख बक्स खाना निशुल्क बांड्ने सुजन कटवाल र एभरेष्ट इनका सेफ शंकर पाण्डेलाई दूतावासका तर्फबाट सम्मान गरिएको थियो।

ट्राभल एण्ड टुर्स अपरेटर, ट्राभल राइटर, ट्राभल व्यवसायी, सञ्चारकर्मी लगायत बेलायती तथा नेपाली सहभागी उक्त कार्यक्रममा सयपत्री कल्चरल ग्रुप आवद्ध किशोरीहरुले मौलिक नेपाली नाच प्रस्तुत गरेका थिए भने सयपत्री अध्यक्ष डम्बरसिंह प्रयासले सारंगीको धुन सुनाए।

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष प्रेम गाहामगर,,बुद्धि जीबी शिब जी श्रेष्ठ ध्रुब केशी, खगेन्द्र नेपाली लगायत नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी लगायतका प्रतिनिधिहरुको उपस्थिति थियो ।



प्रेस विज्ञप्ति

यस राजदूतावासले नेपालको पर्यटन प्रबर्द्धन गर्न ०५ जुलाई २०२२ मा “Potentials of Tourism for Boosting Nepal’s Economy” विषयक एक कार्यक्रमको आयोजना गर्यो । कोभिड-१९ संक्रमणबाट शिथिल नेपालको पर्यटनलाई पुनर्जिवित गराउन ब्रिटिश पर्यटकको आवागमन बढाउने अभिप्रायले आयोजित उक्त कार्यक्रममा बेलायतस्थित टुर तथा ट्राभल अपरेटर्स, पर्यटनसम्बन्धित लेखकहरु एवं पत्रकारहरु, नेपाललाई माया गर्ने बेलायतीहरुका साथै नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत करिव ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत महामहिम श्री ज्ञानचन्द्र आचार्यले नेपाल प्रकृति, संस्कृति र साहसिक पर्यटनको लागि अद्वितीय देश रहेको हुँदा नेपाल बेलायती पर्यटकहरुको लागि उत्कृष्ट आगामी भ्रमण गन्तब्य भएकोले भ्रमण तालिकामा नेपाल समावेश गर्न अनुरोध गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका तर्फबाट पर्यटन बजारीकरण एवं प्रवर्द्धनका निमित्त निर्देशक श्री लक्ष्मण गौतमले भर्चुअल माध्यमबाट बोल्दै नेपालमा रहेका उत्कृष्ट पर्यटकीय आकर्षणहरुको बारेमा जानकारी दिंदै कोभिड-१९ पश्चात् नेपाल पूर्णरुपमा खुला रहेको हुँदा नेपालले ऐतिहासिक सम्बन्ध रहेको बेलायतबाट अझ धेरै पर्यटकको अपेक्षा गरेको बताउनु भयो । त्यसैगरी Nepal Association of Tour and Travel Agents (NATTA) का अध्यक्ष श्री रमेश थापाले नेपालका मुख्य मुख्य पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी गराउँदै नेपाल सबै खालका मनोरञ्जन, साहसिक पर्यटन तथा विदा मनाउन उत्कृष्ट गन्तब्य रहेको जानकारी गराउँदै नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो ।

BBC MasterChefs ‘The Professionals’-2020 का finalist सेफ श्री सन्तोष साहले आफ्नो BBC MasterChefs यात्रा दौरानका बारेमा संक्षिप्त चर्चा गर्दै नेपाली खाना विश्वमै अद्वितीय रहेको र सबै किसिमका नेपाली खानाहरुको स्वाद लिन नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो । त्यसैगरी, Lonely Planet Publications का पत्रकार र लेखक Mr. Joe Bindloss ले आफुले धेरै पटक नेपाल भ्रमण गरेको जानकारी गराउँदै आफ्नो पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै नेपाल विश्वमै पर्यटनका लागि प्रमुख गन्तब्य रहेको जानकारी गराउनु भयो ।

बेलायतका लागि नेपालका पर्यटन दूत श्री महन्थ बहादुर श्रेष्ठले विश्वको सर्बोच्च शिखर सगरमाथा र बेलायतमा कार्यरत गोर्खा सेनाबाट परिचित नेपाललाई विश्वभर चिनाउन विशेष अभियानको खाँचो रहेको र त्यसका लागि आफुले पनि पहल गर्ने बताउनुभयो । बेलायतस्थित ट्राभल कन्सोलका संचालक श्री विराज भट्टले बेलायतबाट नेपाल भ्रमण गर्न आवश्यक पुर्वतयारी तथा नेपालमा उपलव्ध भ्रमण सम्बन्धी सम्पुर्ण प्याकेजका बारेमा जानकारी गराउनु भयो । AWOL Adventure का Operations Manager Mr. Dan Wright ले नेपाललाई बेलायती पर्यटकहरु माझ आकर्षक गन्तव्यका रुपमा विकसित गरी पर्यटक संख्या वृद्धि गर्न सकिने र सो का लागि नेपाल पर्यटन बोर्डसँग कार्य गर्न चाहेको बताउनु भयो ।

कार्यक्रममा सयपत्री नेपाली सांस्कृतिक समूह युकेका तर्फबाट दुईवटा लोकगितमा नृत्य र उक्त समूहका अध्यक्ष श्री डम्बर सिंह प्रयासले सारङ्गीको धुन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सुरुवातमा अतिथिहरुलाई मास्टरसेफ श्री सन्तोष साहले तयार गर्नुभएका परिकारहरु प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा मास्टरसेफ श्री सन्तोष साहलाई नेपाली खानाको प्रचारप्रसार गरेबापत एवं बेलायतस्थित पानस रेस्टुरेन्टका संचालक एवं पानस हेल्पिङ्ग ह्याण्ड्सका अध्यक्ष श्री सुजन कटुवाललाई महामारीका बेला बेलायतस्थित नेशलन हेल्थ सर्भिस एवं स्थानीय समुदायलाई १ लाख निःशुल्क खाना प्रदान गरेबापत राजदूतावासका तर्फबाट सम्मान गरिएको थियो ।

नेपाली राजदूतावास
लण्डन, ०६ जुलाई २०२२