१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७३, बुधबार ०९:३६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आवेग र उत्तेजनामा होइन, जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन सांसदलाई निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको संसदीय दल र संसदीय विभागको संयुक्त बैठकमा उहाँले आगामी वैशाख ३१ का लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनलाई बाधा नहोस् भन्ने ढङ्गबाट होसियारीपूर्वक प्रस्तुत हुन निर्देशन दिनुभएको हो ।
अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव गैरसवैधानिक भएकाले कुनै पनि हालतमा पारित हुन नसक्ने र हुन नदिइने बताउँदै एमाले सहितका नौ दलको निर्णयपछि मात्र संसद्मा कसरी प्रस्तुत हुनेभन्ने निक्र्याैल हुनेबारे जानकारी गराउनुभएको सांसद रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– “चुनाव जुनसुकै हालतमा पनि वैशाख ३१ मै हुनुपर्छ, गराउनुपर्छ, सरकारसँग हाम्रो अरु कुनै माग र अडान छैन, एक मात्र माग भनेको निर्वाचन मात्रै हो, यसमा हामी सरकारलाई बिनाशर्त सहयोग गर्छाै, सहयोग भूमिका निर्वाह गर्ने छौँ ।” बैठकले दलले अघि सारेका मेची–महाकाली अभियानलाई अत्यन्तै सफलतापूवर्कक सम्पन्न गर्न सबै पार्टी पङक्तिलाई त्यसै अनुरुपको भूमिका र जिम्मेवारी बहन गर्न निर्देशन दिने निर्णयसमेत भएको बताइएको छ ।