६ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डनमा मनाइयो २०९ औँ भानु जयन्ती

नेपालब्रिटेन डट कम्
२७ असार २०७९, सोमबार २०:५१

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले २०९औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाएको छ ।

वेष्ट लन्डनको एक्टनस्थित एबीआइ कलेजमा आइतबार आयोजित समारोहमा पुस्तक विमोचन तथा पुरस्कार वितरण गर्दै प्रमुख अतिथी तथा परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको चर्चा गरि नेपाली भाषा साहित्यको विकासमा परिषद्को विशिष्ट योगदान र इतिहास रहेको बताए ।

आफ्ना सिर्जनाद्वारा समाजलाई परिवर्तनतर्फ उन्मुख गराउने सर्जकहरूको सम्मान गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै राजदूत आचार्यले डा. सुधा श्रेष्ठको पुस्तक ‘थेम्स नदीका दुई किनारा’ मा समेटिएका कविताहरूले पनि सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास व्यक्त गरे ।

समारोहमा सम्मान अभिनन्दन ग्रहण गर्दै विशिष्ट अतिथि वरिष्ठ चलचित्र निर्देशक तथा संगीतकार किरण प्रधानले बेलायतमा आफूले पहिलो नेपाली चलचित्र ‘कस्तुरी’ बनाउँदाको अनुभूति सुनाए । उनले परिषद्का संरक्षक राजदूतबाट सम्मानित हुन पाउँदा आफूलाई हर्षानुभूति भएको पनि उल्लेख गरे ।

समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्दै परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजंग शाहले अत्यन्त अविकसित समाजको त्यो कालखण्डमा भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको लहर चलाए, त्यो आफैंमा एक साहसिक कदम रहेको चर्चा गरे । भानुभक्तले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पुरयाएको पनि शाहले स्मरण गरे ।

समारोहमा विमोचित पुस्तक ‘थेम्स नदीका दुई किनारा’ कवितासंग्रहको समिक्षा गर्दै वरिष्ठ साहित्यकार शाहले जीवन र जगतको अन्तर सम्वन्ध एवं संवेदनशीलताको प्रसंग कवयित्री डा. सुधा श्रेष्ठले आफ्ना कविताहरूमा मार्मिक रूपले उठाएकी उल्लेख गरे ।

सभापतिको आसनबाट परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा 
गर्दै नेपाली पहिचान युग युगसम्म जीवन्त राख्न नेपाली भाषा, साहित्य, संस्कृति चिनारीहरू जोगाउदै लैजानुपर्ने औचित्य प्रकाश पारे ।

विमोचित आफ्नो पुस्तक ‘थेम्स नदीका दुई किनारा’ बारे बेल्दै लेखक तथा परिषद्की उपाध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठले पुस्तकमा संग्रहित आफ्ना कविताले जीवन र जगतको अन्तरघुलनमा नयां सोच र प्रेरणाको जागरण हुनुपर्ने सन्देश दिएको बताइन् । उनले कवितामा आज देशले भोग्न परेका विकृत राजनीतिबाट सृजित पीडाबाट उन्मुक्ति खोजेको प्रसंग पनि रहेको जनाइन् ।

परिषद्का महासचिव वीरेन्द्र कुँवरले परिषदले विगत साढे दुई दशक बढी समयदेखि परिषदले गर्दै आएका साहित्यिक गतिविधिबारे चर्चा गरे । उनले बेलायतमा साहित्यिक माहोलको सुरूवात गरेर परिषदले एउटा महत्वपूर्ण अगुवाई गरेको बताए ।

आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यापर्ण र राष्ट्रिय गानबाट आरम्भ भएको कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाले भानुभक्तका रामायणका श्लोक वाचन गरे ।

कार्यक्रममा परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र उपाध्यक्ष डा. सुधा श्रेष्ठले परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यमा अभिनन्दन पत्र र पुष्पगुच्छा अर्पण गरेका थिए । उक्त अवसरमा दूतावासकी उपनियोग प्रमुख रोशन खनाललाई पनि पुष्पगुच्छाद्वारा सम्मान गरियो ।

समारोहमा राजदूत आचार्यले हाल बेलायत भ्रमणमा रहेका नेपालका वरिष्ठ चलचित्र निर्देशक, लेखक, संगीतकार एवं गायक डा. किरण प्रधानलाई उनले चार दशक भन्दा बढी समय देखि नेपाली भाषा-साहित्य, गीतसंगीत, कला, चलचित्र आदि क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै परिषद्का तर्फबाट विशिष्ट सम्मान प्रदान गरे ।

पुरस्कार वितरणपछि प्रमुख अतिथि राजदूत आचार्य, उपनियोग प्रमुख खनाल, विशेष अतिथि प्रधान, परिषद्का अध्यक्ष, महासचिव र स्वयम् लेखिका डा. श्रेष्ठले थेम्स नदीका दुई किनारा कविता संग्रह विमोचन गरेका थिए ।

कार्यक्रममा साहित्य चौतारीका संयोजक साहित्यकार वासु शर्माले आफ्ना मौलिक कृतिहरू स्वाभिमान दुख्दैछ (मुक्तक संग्रह), फेरि थेम्सकै किनारा कोशीकै सम्झना (कविता संग्रह) ५-५ प्रति परिषद्का अध्यक्ष कोमल मल्ललाई हस्तान्तरण गरे ।

दोस्रो चरणको कवि गोष्ठी कार्यक्रममा वसन्त रायक्षेत्री, हरिसिंह थापा, वासु सापकोटा, केदार संकेत, समिप जर्जर, गंगा लिगल, घनबहादुर थापा मगर, हिन्द मैया बैद्य, वीरेन्द्र कुँवर, डा. सुधा श्रेष्ठ, कोमल मल्ल र सुरेशजंग शाहले कविता वाचन गरे ।

अन्तमा कार्यक्रम सफल बनाउन आर्थिक तथा भौतिक सहयोग पुरयाउने डा. राघवप्रसाद धिताल, डा. सुधा श्रेष्ठ, हिन्द मैया बैद्य, घनबहादुर थापा मगर, श्रीमती कृष्णा थापा मगर, ज्ञानेन्द्र राउत, कोहिनुर मल्ल, रमेश श्रेष्ठ, सितु खरेल र एबीआइ कलेजका प्रोप्राइर डाइरेक्टर कृष्ण भट्टलाई धन्यवाद दिइयो ।

समारोह परिषद्का अध्यक्ष कोमल मल्लको सभापतित्वमा भएको हो ।