७ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन कानुन संशोधनको तयारी

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७९, सोमबार १८:५६

लण्डन । निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन कानुन संशोधनको तयारी गरेको छ ।

आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले विदेशमा रहेका नेपालीहरूको लागि मताधिकारको लागि दफा र उपदफामा संशोधन गर्न लागेको हो ।

यसैबीच गैरआवासीय नेपाली संघले एकीकृत निर्वाचन कानुनमा राय सुझाब संकलन कार्यक्रम अन्तर्गत बिदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चिताको लागि सुझाव लिएको छ ।

संघको तर्फबाट अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष नरेन्द्र भाटले निर्वाचन आयोग समक्ष सुझाव बुझाएका हुन् ।

यस्तो छ निर्वाचन आयोगको संशोधन तयारी

दफा( २२) मा उल्लेखित विदेशमा रहेका व्यक्तिको नामावली संकलन गर्ने :

(१) आयोगले मतदाता नामावली तयार गर्ने प्रयोजनको लागि विदेशमा रहेका नेपाली नागरिकको नामावली संकलन गर्न सम्भाव्यता आधारमा आवश्यक प्रबन्ध गर्नेछ।

२) उपदफा(१) बमोजिम विवरण संकलन गर्न आयोगले कुटनीतिक नियोग तथा अन्य निकायको सहयोग लिन सक्नेछ भनिएको छ। त्यस्तै दफा ( १०२) अन्तर्गत विदेशमा रहेका मतदाताले मतदान गर्ने:( १) आयोगले विदेशमा रहेका र दफा (२२) बमोजिमको मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई सम्बधित मुलुकस्थित नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन सक्नेछ।

(२ ) उपदफा (१) बमोजिम मतदानको व्यवस्था मिलाइएकोमा त्यस्ता मतदाताले समानुपातिक तर्फको निर्वाचनमा तोकिए बमोजिम मतदान गर्न सक्नेछन्।

(३) यस दफा बमोजिम मतदानको व्यवस्ता मिलाउने तथा त्यसरी मतदान भएको मतपत्रको गणना सम्बन्धी अन्य तोकिए बमोजिम हुनेछ।

(४) उपदफा (१) बमोजिम मतदान गर्ने व्यवस्था गरिएको मुलुकको विवरण नेपाल राजपत्रमा प्रकाशन गरिनेछ। गैर आवसीय नेपाली संघले उपदफा (५) थपि अनिवार्य रुपमा आसन्न संघ र प्रदेशको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई अविलम्ब समावेश गर्नुपर्ने भौतिकरूपमा असम्भव नभएको खण्डमा कूटनीतिक नियोगका निगरानीमा अनलाइन भोटिङ सिस्टममा मतदान गर्नुपर्ने सुझाब दिएको छ।