१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अलराउन्डर बेन स्टोक्सद्वारा एक दिवसीय क्रिकेटबाट सन्यास

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७९, मंगलवार ०६:२६

लन्डन । इंग्ल्याण्डका अलराउन्डर बेन स्टोक्सले एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । सोमबार ट्वीटरमा एक पोस्ट लेख्दै उनले सन्यासको घोषणा गरेका हुन् । स्टोक्सले अब आफ्नो सम्पूर्ण ध्यान टी–ट्वान्टी फरम्याटमा हुने बताएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘म इंग्ल्याडको लागि आफ्नो अन्तिम एकदिवसीय क्रिकेट खेल मंगलबार डरहममा खेल्दैछु । मैले यो शैलीमा सन्यास लिने निर्णय गरेको छु । यो निर्णय मेरो लागि पनि एकदमै कठिन हो । मैले इंग्ल्याण्डको टीममा आफ्नो साथीहरूको साथ हरेक मिनेटको खेल मन पराएको छु । हामी यस दौरान अविश्वनीय यात्रा गर्यौं ।’

३१ वर्षीय स्टोक्सले आफ्नो अन्तिम एकदिवसीय खेल मंगलबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दैछन् । १ सय ३ एकदिवसीय खेल खेलेका उनले घरेलु मैदानमा नै आफ्नो एकदिवसीय करियरको समापन गर्न लागेका हुन् ।

स्टोक्सले सबैभन्दा सम्झनलायक क्षण भनेको २०१९ को विश्वकपको फाइनल थियो । जहाँ उनले न्यूजिल्याण्डविरुद्ध ८४ रन बनाएर खेललाई सुपरओभरमा पुर्याएका थिए । पछि इंग्ल्याण्डले पहिलो विश्वकप जितेको थियो, जसमा स्टोक्स प्लेयर अफ दि म्याच भएका थिए ।