१५ चैत्र २०८०, बिहीबार
Follow Us

एमिलियालाई ब्रेन एन्यूरिज्म

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७९, मंगलवार १०:२९

लन्डन । हलिउड अभिनेत्री एमिलिया क्लार्कलाई ब्रेन एन्यूरिज्म भएको छ । यो रोगका कारण उनको शरीरका कैयौं अंग ‘ड्यामेज’ भएका छन् । उनका अनुसार विश्व प्रसिद्ध सिरिज ‘गेम अफ थ्रोन्स’को सुटिङको समयमा ब्रेन सर्जरी पनि गराएकी थिइन् ।

एमिलियाले यो सिरिजमा ‘मदर अफ ड्रागन’को भूमिका निभाएकी थिइन् । उनले ब्रेन सर्जरीपछि आफ्नो जीवन पूर्ण रूपमा परिवर्तन भएको जनाएकी छन् । ‘सर्जरीपछि मेरो दिमागको एक हिस्सा गायब भएको जस्तो अनुभव भइरहेको छ । मेरो दिमागको त्यो हिस्सा अब प्रयोग गर्न अयोग्य छ । तर खुसीको कुरा यो हो कि म अहिले पनि कुरा गर्न सक्छु’, उनले भनेकी छन् ।

उनले आफ्नो जीवन रचनात्मक तरिकाले बाँचिरहेको बताएकी छन् । ‘सत्य कुरा यो हो कि धेरै मानिस यो रोगका कारण पनि जिउँदै रहन्छन् । यो समस्याका बाबजुद पनि म राम्रो काम गरिरहेकी छु । म कुनै संवाद नबिर्सिई शोमा काम गरिरहेकी छु’, उनले भनेकी छन् ।

ब्रेन एन्यूरिज्मबाट पीडित व्यक्तिको दिमागको नसा कमजोर भएर फूल्ने गर्दछ । ५० वर्षभन्दा बढी उमेरका व्यक्ति वा उच्च रक्तताप, जेनेटिक रोग, इन्फेक्सन या दिमागी चोट र तनावसँग जुधिरहेका व्यक्तिहरु यो रोगको सामना गरिरहेका हुन्छन् ।