७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनलाई सामुहिक रुपमा नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७९, बिहीबार १५:३०

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामुहिक रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

कोभिड १९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा संचितिमा संकुचन देखिएको बताउँदै यो नेपालमा विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए । ‘मुलुक अहिले वैदेशिक मुद्रा संचितिको चापबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईंहरुलाई यो उपयुक्त अवसर होे,’ उनले भने, ‘प्रत्येक मुलुकको वा शहरको समूहहरु बनाई सामुहिक रुपमा ठूलाठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस् ।’

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए । ‘नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईंहरुको लगानीको प्रतिफल लैजान केही समस्या परेमा हामी तपाईंहरुसँगै हुनेछौ । यहाँहरुलाई भविष्यमा आइपर्ने कुनै पनि समस्या समाधानका लागि समग्र निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गरिने प्रतिवद्धतासमेत जनाउँछु,’ उनले भने ।