१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रवासी नेपाली मञ्चद्वारा गैरआवासीय नागरिकताको स्वागत

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७९, शनिबार २०:५६

लन्डन। गैरआवासीय नेपालीको बाटो खुल्ने गरी नेपालको संसदबाट नागरिकता विधयेक पारित भएकोमा प्रवासी नेपाली मञ्चले स्वागत गरेको छ ।

नेकपा एमालेनिकट मञ्चको ग्लोबल कमिटीका तर्फबाट अध्यक्ष भक्त गुरुङले शनिबार एक वक्तव्य जारी गर्दै पारित विधयकले गैरआवासीय नागरिकताको लागि मार्ग प्रशस्त गरेको भन्दै स्वागत गरेका छन्।

‘प्रतिनिधिसभाले पारित गरेको यस विधेयकबाट हामी प्रवासी नेपाली मञ्च, नेपाली नागरिकतासंग सरोकारीत सम्पूर्ण प्रवासी नेपालीहरु र गैरआवासीय नेपाली संघ समेतको अथक पहलकदमीको फलस्वरुप राजनीतिक तथा प्रशासनीक अधिकारहरु कटौती भएको सिमित अधिकारसहितको भएपनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने मार्ग प्रशस्त भएको छ’ अध्यक्ष गुरुङले भनेका छन्, ‘यस व्यवस्थाले सार्क क्षेत्रबाहेकका राष्ट्रमा विदेशी नागरिकता लिएर बसेका साविकका नेपाली नागरिकहरु र तिनका सन्तान तथा दरसन्तानहरुलाई नेपाली नागरिक बन्ने शुभअवसर प्रदान गर्ने छ।’

विवाहलगत्तै विदेशी नागरिकलाई पनि नागरिकता दिने गरी भएको व्यवस्थाको भने मञ्चले विरोध गरेको छ।

‘नेपालको प्रतिनिधिसभाले पारित गरेको गैरआवासीय नेपाली नागरिकता सम्बन्धि संशोधित विधेयकले यस अभियानमा केहि सकारात्मक मार्ग प्रशस्त गरेको छ। विधेयकको यस पक्षलाई हामी स्वागत गर्छौ। तर विवाहलगतै नागरिकता दिने कुराको हामी बिरोध गर्छौ, वक्तव्यमा भनिएको छ, ‘संशोधित विधेयकलाई राष्ट्रियसभाबाट पारित गर्ने, सम्माननीय राष्ट्रपतिबाट प्रमाणीत गर्ने, राजपत्रमा प्रकासित गर्ने र आवश्यक नियमकानुनहरु तर्जुमा गरी बर्षौको पर्खाईको पिडामा रहेका प्रवासी नेपालीहरुलाई कम्तिमा भएपनि नेपालमा आफ्नो सम्पत्तिमाथीको हक कायम गर्ने, व्यापार–व्यवसाय गर्ने, आफ्नो सन्तान–दरसन्तानलाई नेपाली नागरिकता दिलाई नेपाली भएको अनुभूति गराउने कामलाई यथाशिघ्र कार्यान्वयन गरियोस् भनी नेपाल सरकार, नेपालका राजनीतिक दलहरु र अन्य सरोकारीत पक्षहरुको गम्भिर ध्यान आकर्षण गर्दछौं ।’

मञ्चले गैरआवासीय नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने, गोर्खाहरुको लागि विशेष व्यवस्था हुनुपर्ने लगायतका मुद्धामा मञ्चले पहल गर्दै आएको स्पष्ट पार्दै अध्यक्ष गुरुङले आगामी दिनमा पनि पूर्ण अधिकारसहितको नागरिकताको मुद्धा निरन्तर राखिने जनाएका छन्।