१४ बैशाख २०८१, शुक्रबार
Follow Us

को हुदैछ एनआरएनएको सिइओ ?

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७९, शनिबार १९:५२

लण्डन् । गत वैशाख देखि रिक्त गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ) को नियुक्तिको तयारी अन्तिम चरणमा पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ) का लागि ४ जना उम्मेदवारले शनिवार अन्तिम अन्तरवार्ता दिएका छन्।

कूल ४५ जना आकांक्षीबाट छानिएर अन्तिम सूचिमा रहन सफल ती उम्मेदवारहरुले आआफ्नो विज्ञता प्रस्तुत गर्दै छनोट समिति समक्ष अन्तरवार्ता दिएका हुन् ।

मासिक करिब २ लाख तलव, गाडी र भत्ता सहितको सो आर्कषक पदको लागि राजेन्द्र कुमार राउत, अग्नि प्रसाद उपाध्याय (अनिल), बन्दना शर्मा र रवि कुमार अधिकारीले अन्तरवार्तामा सहभागी भए ।

अन्तरवार्ताको लागि छनोटमा परेका अर्का एक जना भने उपस्थित भएनन्।

विभिन्न चरणको अन्तर्वार्ताबाट ५ जना उम्मेदवार फाइनल अन्तर्वार्ताका लागि छनोट भएका थिए।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार छनोट समितिले आइतबार नेपाली समय बेलुकासम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

सिइओ छनोट समितिमा कार्यसमितिबाट अध्यक्षत्रय कुल आचार्य, रवीना थापा, डा. बद्री केसी, महासचिवद्वय डा. केशव पौडेल, गौरीराज जोशी र उपाध्यक्ष महेश श्रेष्ठ थिए।

यस्तै विज्ञ तथा स्वतन्त्र हैसियतको रुपमा भिम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराईलाई राखिएको थियो।

फाइनल अन्तरर्वातामा उम्मेदवारलाई प्रश्न सोधपुछ समितिका सबैजनाले गरेपनि मुल्यांकन गर्ने अधिकार भने स्वतन्त्र हैसियतले बाहिरबाट राखिएका उदास, खतिवडा र भट्टराईलाई दिइएको छ।

यी तीन जनाले दिएको नम्बरका आधारमा सिइओको अन्तिम टुंगो लाग्ने बताएको छ ।