१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्राध्यापक सूर्य सुवेदीलाई हल विश्वविद्यालयको महाविद्यावारिधि

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७९, आईतवार १८:०८

लन्डन । एक भव्य दीक्षान्त समारोहबीच बेलायतको हल विश्वविद्यालयले प्रा. डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ।

प्रा. सुवेदीलाई दुई वर्षअघि नै सन् २०२० उक्त विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभिडका कारण हुन नसकेको दीक्षान्त समारोह अहिले भएको हो ।

उक्त विश्वविद्यालयकी कुलपति व्यारोनेस भर्जिनिया बटमलीले प्रा. सुवेदीलाई महाविद्यावारिधि उपाधि प्रदान गरेकी थिइन्। उनले सुवेदीको सम्मानमा एक रात्रिभोज समेत आयोजना पनि गरेकी थिइन्।

प्रा. सुवेदीले सन् १९८८ मा उक्त विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भई कानुनमा स्नातकोत्तर गरेका थिए। हालै मात्र उक्त विश्वविद्यालयले प्रा. सुवेदीको नाममा आधुनिक प्रकारका दास प्रथा उन्मूलन र मानवको मानव भएर बाँच्न पाउने विषयमा संसारमा जोसुकैले लेखेको उत्कृष्ट ग्रन्थलाई प्रदान गरिने वार्षिक पुरष्कार पनि स्थापना गरेको थियो।