४ बैशाख २०८१, मंगलवार
Follow Us

हँसियाले हानेर कुकुर मार्ने महिला पक्राउ

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७९, शुक्रबार ०४:०९

काठमाडौँ । हँसियाले हानेर कुकुर मारेको आरोपमा तारकेश्वर नगरपालिका–४ कि एक महिला पक्राउ परेकी छिन् । आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै बुधवार सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मार्ने जुना बराललाई प्रहरीले पक्राउ गरेको हो । उनले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियो हेरेर पशु अधिकारकर्मी इरफान खानसहितको टोलीले बराल विरुद्ध प्रहरीमा उजुरी दिएसँगै बालाजु प्रहरीले महिलालाई पक्राउ गरी हिरासतमा राखेको हो । प्रहरी कार्यालय अगाडी पशु अधिकारकर्मीहरूले कुकुर मार्नेलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसुरको व्यवस्था छ । संहिताको दफा २९० मा ‘कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ तथा सामर्थ्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न नहुने’ उल्लेख छ ।

उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संहिताको दफा २८९ मा त्यस्ता पशु मारेमा तीन वर्षसम्म कैदको व्यवस्था छ । अङ्गभङ्ग गराएमा ६ महिनासम्म कैद हुन्छ । रोगी तथा वृद्ध पशुहरूलाई सार्वजनिक स्थानमा छाड्न नहुने र यस्तो कार्य गरेमा तीन महिना कैद र पाँच हजार जरिवानाको व्यवस्था छ ।