७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतस्थित नेपाली राजदूतलाई विवादमा तान्ने प्रयासको चौतर्फी आलोचना

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७९, सोमबार १४:४५

लन्डन । आफ्नो संस्थाभित्र एकता कायम गर्न नसकेपछि नेपाल सरकारको प्रतिनिधिलाई विवादमा तान्न खोज्ने प्रवृत्तिको बेलायतस्थित नेपाली समाजका अगुवाहरुले विरोध गरेका छन्।

एनआरएनए युकेका २४ जना सदस्य तथा पदाधिकारीहरुले संघका अध्यक्ष प्रेम गाहा मगरले गत अगष्ट ६ तारिखमा एकतर्फी रुपमा बोलाएको साधारण सभामा भाग नलिन वक्तव्य नै निकालेका थिए। उक्त सूचना पाए पछि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य उक्त कार्यक्रममा गएनन्।

त्यस पछि बेलायतस्थित सिंगो नेपाली समाजको अभिभावकको रुपमा रहेको नेपाली दूतावासलाई विवादमा तान्ने गरी ३३ जनाले हतारमा एक लिखित वक्तव्य प्रकाशित गरे। उक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरु मध्ये नेपाली मूलका काउन्सिलर, नेम थापा, पनि छन्।

युकेको रशमोर बरो काउन्सिलका नेपाली मूलका काउन्सिलर, नेम थापा, को गैरकूटनीतिक व्यवहारको आलोचना भै रहेको छ। थापाले अन्तरराष्ट्रिय कूटनीतिक सम्बन्ध सम्बन्धि भियना सन्धिको उल्लङ्घन गरी नेपाल राष्ट्रको अपमान गर्ने प्रयास गरेका छन् । इग्ल्याण्डको रशमोर बरो काउन्सिल एउटा स्थानीय सरकार हो । यसले बेलायत र अन्य देशबीचको कूटनीतिक सम्बन्धलाई नियन्त्रण गर्न तथा कूटनीतिज्ञहरुलाई निर्देशन वा चेतावनी दिने अधिकार राख्दैन । तर काउन्सिलर नेम थापाले हस्ताक्षर गरेका बक्तब्यमा राजदूतलाई चेतावनी सहित निर्देशन दिइएको छ । एउटा स्वतन्त्र देशका कूटनीतिक नियोगका प्रमुखलाई स्थानिय सरकारका तर्फबाट भन्दै यस प्रकारको कार्य गर्नु भनेको उक्त कुटनितिज्ञले प्रतिनिधित्व गरेको देशको मर्यादालाई अवमुल्यन गर्नु हो ।

नेपालका बर्तमान राजदुत नेपालका एक्स्ट्राअर्डिनरी प्लेनीपोटेन्सरी हुन् । उनलाई बेलायतमा कसैले निर्देशन दिन, चेतावनी दिन मिल्दैन । उनले नेपालको परराष्ट्र मार्फत नेपाल सरकारको निर्देशन लिन्छन् । सार्बभौम देश नेपालका उच्च कूटनीतिज्ञको कुनै कार्यमा बेलायतको सरोकार भएमा बेलायतको स्थानीय सरकारले होइन महारानीको तर्फबाट यसको विदेश मन्त्रालयले पत्राचार गर्दछ ।

एउटा विबादास्पद कार्यक्रममा आउन अस्वीकार गरेका राजदुत विरुद्ध स्थानीय संघ संस्था भन्दै कार्यक्रममा उपस्थित ३३ जनाले हस्ताक्षर गरेका थिए । उक्त पत्रमा तमुधी युके तथा मगरसंघ युके लगायतको नाम भए पनि ति संस्थाका अध्यक्षहरुले राजदुत विरुद्ध लेखिएको पत्रमा आफ्नो संस्थाको संलग्नता नभएको बताएका छन् ।

बेलायतमा दर्ता भएका र गतिविधी गर्ने कम्तिमा ५०० भन्दा बढी संस्थाहरु छन् । ती संस्थाहरु शनिवार एनआरएनए युकेका नाममा आयोजित विवादास्पद कार्यक्रममा अनुपस्थित भएका थिए ।