१२ बैशाख २०८१, बुधबार
Follow Us

काउन्सिलर नेम थापाले गरे क्षमा याचना, काउन्सिलरको रुपमा भाग नलिएको खुलासा

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७९, सोमबार १५:१४

लन्डन । युकेको रशमोर बरो काउन्सिलका नेपाली मूलका काउन्सिलर, नेम थापाले गत शनिबार एनआरएनए युकेको भेला पछि प्रकाशित वक्तव्यमा आफुले काउन्सिलरको रुपमा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई एक पत्र पठाउंदै थापाले आफु उक्त भेलामा काउन्सिलरको रुपमा न भै एनआरएनए युकेको सल्लाहकारको रुपमा उपस्थित भएको बताएका छन्।

“यदि यसबाट तपाईं र पुरै दूतावास परिवारलाई कुनै असुविधा पुगेको भए कृपया मेरो हार्दिक क्षमा याचना स्विकार्नु होला,” थापाले पत्रमा लेखेका छन्।

उनले उक्त पत्रको जानकारी आफ्नो काउन्सिलका लिडरहरु र संचार माध्यमलाई पनि उपलब्ध गराएको जनाएका छन्।

एनआरएनए युकेका २४ जना सदस्य तथा पदाधिकारीहरुले संघका अध्यक्ष प्रेम गाहा मगरले गत अगष्ट ६ तारिखमा एकतर्फी रुपमा बोलाएको साधारण सभामा भाग नलिन वक्तव्य नै निकालेका थिए।

उक्त सूचना पाए पछि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य उक्त कार्यक्रममा गएनन्। उक्त विवादास्पद कार्यक्रममा आउन अस्वीकार गरेका राजदूत विरुद्ध स्थानीय संघसंस्था भन्दै कार्यक्रममा उपस्थित केहीले हस्ताक्षर गरेका थिए । उक्त पत्रमा तमुधी युके तथा मगरसंघ युके लगायतको नाम भए पनि ति संस्थाका अध्यक्षहरुले राजदूत विरुद्ध लेखिएको पत्रमा आफ्नो संस्थाको संलग्नता नभएको जनाएका छन् ।