१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पहिलो पटक गगन थापाको अध्यक्षतामा काँग्रेस पदाधिकारी बैठक

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७९, बुधबार ०९:२५

काठमाडौँ । सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको नेपाली काँग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ ।

बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् । १४ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक काँग्रेसको बैठक अध्यक्षता गरेका हुन् ।

सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा नआएका उनको सचिवालयले जनाएका छन् । त्यस्तै उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्का उपसभापति गुरुङ अस्ट्रेलिया भ्रमणमा रहेका काँग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि ३० र ३१ साउनमा गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि बैठक बसेको एक पदाधिकारीले जानकारी दिए ।

काँग्रेसमा सभापति, २ जना उपसभापति, २ महामन्त्री, ८ जना सह महामन्त्री र प्रवक्ता गरी १४ जना पदाधिकारी छन् । सभापतिले नियुक्ति गर्ने कोषाध्यक्ष पद खाली छ ।