७ बैशाख २०८१, शुक्रबार
Follow Us

क्रिस्टल प्यालेससँग लिभरपुल बराबरीमा रोकियो

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७९, मंगलवार ०४:५७

लन्डन । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए । यसपछि लिभरपुल ५७औँ मिनेटमा १० खेलाडीमा सिमित भयो । यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे ।

खेलको ६१औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए । लगातार दोस्रो बराबरसँगै लिभरपुल दुई खेलबाट दुई अंक बोक्दै १२ औँ स्थानमा छ । यसअघि लिभरपुल पहिलो खेलमा फुलहमसँग २-२ को बराबरीमा रोकिएको थियो । यस्तै, प्यालेस पहिलो अंक जोड्दै १६औं स्थानमा छ ।

डेब्यु खेलमा डि मारियाको गोल
डेब्यु खेलाडी एन्जल डि मारियाको गोलमा इटालीयन सिरी ए लिगमा युभेन्ट्सले सोमबार राति सासुओलोलाई ३-० ले पराजित गरेको छ । टुरिनस्थित एलियन्ज रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन यसै सिजन अनुबन्ध भएका डि मारियाले एक गोल गरे भने डुसान भ्लाहोभिकले दुई गोल गरे ।

खेलको २६औं मिनेटमा डि मारियाले अग्रता लिए । ४३औं मिनेटमा डुसानले पेनाल्टी र ५०औं मिनेटमा डि मारियाको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।

डि मारिया यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन पिएसजीबाट इटाली आएका थिए । जितसँगै पहिलो खेलमै युभेन्ट्सले महत्त्वपूर्ण तीन अंक जोडेको छ । सासुओलोले भने हारबाट सुरु गरेको छ ।