१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘प्रचण्ड-बाबुराम एक ठाउँमा उभिनुको ठूलो अर्थ छ, अब कसैले रोकेर रोकिँदैन’

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७९, मंगलवार १२:२८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् ।

मंगलबार नेसपा अध्यक्ष भट्टराईसँग छलफलपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू र भट्टराई एक ठाउँमा उभिएको भन्दै माधव नेपाल नेतृत्वको नेकपा एसलगायत शक्तिहरुसमेत मिलाएर नेकपा समाजवादी वा त्यस्तै कुनै नामको पार्टी एकता हुने जानकारी दिए ।

‘बाबुराम र प्रचड सँगै उभिने कुराको ठूलो अर्थ छ, अब हामी सँगै उभियौं । कसैले रोकेर रोकिन्न । आजै पार्टी एकता भएको होइन । तर, चुनावपछि हुन्छ’,प्रचण्डले भने,’हामी माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं । पार्टी एकता चुनावपछि हुन्छ । नाम परिर्वन भएर नेकपा समाजवादी वा त्यस्तै केही रहन्छ ।’

प्रचण्डले चुनावअघि पार्टी एकता संयोजन समिति बन्ने र चुनावपछि बृहत वामपन्थी एकता हुने बताए । आफूहरु विभाजित हुँदा देश र जनताले हण्डर ठक्कर खाएको भन्दै प्रचण्डले अब त्यस्तो नहुने बताए ।

बाबुराम भट्टराई नेतृत्वको नेसपा गठबन्धन बाहिर नरहेको भन्दै जसपाको आधिकारिक उपेन्द्र यादवले पाएकाले अब बाबुराम पक्षलाई सीट बाँडफाँटमा कसरी समेट्ने भन्नेबारे छलफल हुने पनि प्रचण्डले बताए ।