१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गण्डकी प्रदेश सरकारसंग एनआरएनएले सहकार्य गर्ने

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७९, शनिबार १६:४९

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गण्डकी प्रदेश सरकारसंग शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहकार्य गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापा र गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काबीच शनिवार साँझ भएको भेटमा गण्डकी प्रदेश सभा र संघबीच आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

छलफलमा मन्त्री खड्काले गैरआवासीय नेपालीहरुसंग देशभित्र रहेका नेपालीहरुमा ठूलो अपेक्षा रहेको बताउँदै आगामी दिनमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा मिलेर काम गर्न सकिने बताउनु भयो ।
मन्त्री खड्काले भेटको क्रममा संघले सार्वजनिक अस्पताल तथा विद्यालयको स्तर सुधार तथा परोपकारको क्षेत्रमा नेपालमा उल्लेख रुपमा काम गर्न सक्ने बताउनु भयो । उहाँले संघसंग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताउनु भयो ।

भेटमा संघकी अध्यक्ष रविना थापाले गैरआवासीय नेपाली संघले आफ्नो क्षमताले भ्याए सम्मको सहयोग गर्दै आएको चर्चा गर्दै आगामी दिनमा बालबालिकाको शिक्षा तथा महिला स्वास्थ्यका क्षेत्रमा केन्द्रीत रहेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो । थापाले सार्वजनिक विद्यालयको अवस्था कमजोर हुँदा अदक्ष जनशक्तिको संख्या बढेको प्रति चिन्ता व्यक्त गर्दै सार्वजानिक विद्यालयको सुधारको लागि सरकारलाई सुझाव दिनु भयो । उहाँले गैरआवासीय नेपाली संघले सीपमूलक तालिम, महिलाहरुलाई छात्रवृत्ति लगायतका परियोजना संचालनमा ल्याउन खोजेको विषयमा जानकारी दिनुभयो । थापाले गैरआवासीय नेपाली संघको स्वास्थ्य समिति अन्तरर्गत २ सय भन्दा बढी चिकित्सकहरुले सकृय रुपमा विदेशमा रहेका नेपालीहरुलाई स्वास्थ्य सेवा दिइरहेको चर्चा गर्दै आगामी दिनमा देशलाई आवश्यक परेमा गैरआवासीय नेपाली चिकित्सकहरुले सहयोग गर्ने बताउनु भयो ।

भेटका क्रममा पोखराका विभिन्न सार्वजनिक स्थलमा सार्वजनिक शौचालय निमार्ण, महिलाहरु स्वास्थ्य, टुहुरा बालबालिकको लागि शिक्षाको अवसर लगायतका विषयमा चर्चा भएको थियो । भेटमा गैरआवासीय नेपाली अभियान्ता नारायण थापाको समेत उपस्थिति थियो । भेटमा मन्त्री खड्काले संघकी अध्यक्ष थापाको आगामी कार्यकालको सफलताको शुभकामना दिँदै खादा लगाएर सम्मान गरेका थिए ।