७ बैशाख २०८१, शुक्रबार
Follow Us

चेल्सी स्तब्ध, सिटी रोकियो

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७९, सोमबार ०६:३०

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसंग स्तब्ध हुँदा म्यानचेस्टर सिटी भने न्युक्यासल युनाइटेडसँग रोकिएको छ । लिड्सले चेल्सीलाई ३–० ले पराजित ग र्‍यो । लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक–एक गोल गरे ।

खेलको ३३औं मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत लिड्सको अग्रता दोब्बर पारे । यस्तै, ६९औं मिनेटमा ह्यारिसनले तेस्रो गोल गरे ।

लिड्सले पछिल्लो पटक चेल्सीलाई सन् २००२ मा २–० ले पराजित गरेको थियो । जितसँगै तीन खेलबाट सात अंक जोडेको लिड्स तेस्रो स्थानमा उक्लिएको छ । थोमस टचेलको प्रशिक्षणमा रहेको चेल्सीको यो पहिलो हार हो । तीन खेलबाट चार अंक जोडेको चेल्सी तालिकाको १२औं स्थानमा छ ।

यता, सिटीले घरेलु टोली न्युकासल युनाईटेडसँग ३(३ को बराबरी खेल्यो । सिटीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्न बाध्य भयो । खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर, खेलको २८औं मिनेटमा मिगुएल अल्मिरोन, ३९औं मिनेटमा कलुम विल्सन र ५४ औं मिनेटमा कप्तान केइरन ट्रिपियरले फ्रिकिकबाट गोल गरेपछी न्युकासललाई ३(१ को अग्रता लियो ।

खेलको ६४औं मिनेटमा एर्लिङ हालाण्ड र ६४औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३(३ गोलको बराबरीमा ल्याए । बराबरीसँगै सिटीले ३ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । न्युकासल ५ अंक जोडेर छैटौं स्थानमा छ ।

बार्सिलोनाको पहिलो जित
स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई ४-१ अन्तरले पराजित गरेको छ । पहिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे भने अन्सु फाती र औसमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए ।

बार्सिलोनाले पहिलो मिनेटमै गोल गरेपनी पहिलो हाफ १-१ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न सफल बार्सिलोनाले तीन गोल थप्यो ।

पहिलो खेलमा रायो भालेकानोसँग रोकिएको क्याटलान क्लबको यो पहिलो तीन अंक हो । जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा छ । सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा छ ।

पीएसजीको फराकिलो जित
युवा स्टार खेलाडी केलियन एम्बाप्पेको ह्यट्रिक प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ । आइतबार राति पिएसजीले लिललाई ७-१ अन्तरले पराजित गर्यो । सहज जित निकाल्ने क्रममा एमबाप्पेले ह्याट्रिक गरे भने नेयमारले दुई गोल गरे ।

यस्तै, लियोनल मेस्सी र आचराफ हाकिमीले एक एक थपे । लिलका जोनाथन बाम्बाले एक गोल फर्काए । पिएसजीले पहिलो मिनेटमै गोल गरेको थियो । एम्बाप्पेले एक मिनेट हुन नपाउदै सुरुवाती अग्रता दिलाएका थिए । पिएसजीले पहिलो हाफमा चार गोल गरेको थियो ।

लगातार तेस्रो जितसंगै पिएसजीले ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ । लिल ४ अंक जोडेर १२ औं स्थानमा छ ।

बायर्नको फराकिलो जित
साडियो मानेको दुई गोल प्रेतिर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमबिरुद्द ७–० को फराकिलो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा आइतबार राति साडियो मानेले दुई गोल गरे भने । लिरोए साने, म्याथिज डि लिग्ट, किङ्सले कोमान र सर्जी जिनाब्रीले एक एक गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गर्‍याे । जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ । बोचुम अंकविहीन हुँदै रेलिगेशन क्षेत्रमा छ ।