१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायत रश्मोर बरोको प्रतिनिधिमन्डल नेपाल भ्रमणमा

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७९, बिहीबार ०३:४१

लन्डन। बेलायतस्थित रश्मोर बरोको एक प्रतिनिधिमन्डल नेपाल गोरखा नगरपालिकाको औपचारिक भ्रमणका लागि नेपाल प्रस्थान गरेको छ।

तीन वर्षअघि मितेरी सम्बन्ध गाँसेको गोरखा नगरको भ्रमणका लागि रश्मोर बरोको पाँच सदस्यीय टोली बुधबार अपरान्ह लन्डनबाट काठमाडौँ उडेको हो।

पाँच दिने भ्रमणमा गएको रश्मोर बरोको प्रतिनिधिमन्डलको नेतृत्व डेपुटी काउन्सिल लिडर मरिस सिहानले गरेका छन्। जसमा बरोका काउन्सिलर जीव बेल्वासे र डेमोक्रेसी एन्ड पार्टनरसीप प्रमुख एन्ड्रू क्लोभरका साथै श्रीमती अमृता बेल्वासे र इज्जी सिहान पनि छन्।

भ्रमण दलका एक सदस्य एवम् काउन्सिलर जीव बेल्वासेले दुई नगरबीचको मितेरी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले नियमित भ्रमण गर्न लागिएको जानकारी दिए।

गोरखामा रहंदा आफूहरुले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, प्रशासन लगायतका विविध पक्षको अवलोकन तथा अनुभव आदानप्रदान पनि गर्ने उनले बताए ।

स्थानीय ऐतिहासिक गोरखा दरबार, गोरखा संग्राहलयसहितका सांस्कृतिक, पर्यटकीय स्थानको भ्रमण पनि तालिकामा समावेश छन्।

बिहीबार काठमाडौं उत्रिएलगत्तै गोरखा प्रस्थान गर्ने रश्मोरको प्रतिनिधिमन्डल अगष्ट २९ मा चितवन हुँदै काठमाडौं फर्किने कार्यक्रम छ।

यसअघि सन् २०१९ मा गोरखा नगरपालिकाका मेयरको प्रत्यक्ष उपस्थितिमा बेलायतमा दुई नगरबीच मितेरी सम्बन्ध गांसिएको थियो।

त्यसयता कोभिड महामारीको बेला रश्मोर काउन्सिलको पहलमा करिब ८० लाख रुपैया बराबरको राहत तथा स्वास्थ्य सुरक्षा सामग्री गोरखा पठाइएको काउन्सिलर बेल्वासेले जनाए।