१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘सुपर डान्सर नेपाल’ मा बलिउड अभिनेता गोविन्दा

नेपालब्रिटेन संवाददाता
१४ भाद्र २०७९, मंगलवार ०३:५४

काठमाडौं । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता अहुजा नेपाल आएका छन् । नेपाली रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को ग्राण्ड प्रिमियरमा अतिथिको रूपमा सहभागी हुन उनीहरू नेपाल आएका हुन् ।

आइतबार राजधानीमा ’मिट एण्ड ग्रिट विथ गोविन्दा’ कार्यक्रम आयोजना गरी शोको आगामी योजनाबारे जानकारी दिइएको थियो । उक्त कार्यक्रममा गोविन्दा र उनकी पत्नी सुनिताले शोलाई लिएर उत्साहित रहेको बताए ।

’नेपालको उत्कृष्ट शोमा उपस्थित हुन पाउँदा एकदमै खुसी छु । नेपाली ज्वाइँको उपमा पाउँदा म सधैं गर्व महसुस गर्छु,’ उनले भने ।त्यस्तै, सुनिताले पनि आफू नेपाली नारीको रूपमा परिचित हुन पाउँदा गर्व महसुस गर्ने बताइन् ।

भूषण दाहालले निर्देशन गरेको उक्त एपिसोड यसै साता प्रसारण हुनेछ । कान्तिपुर टेलिभिजन एचडी र ओएसआर रियालिटी युट्युबमार्फत् यो शो हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण भइरहेको छ ।

चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरूङ र सुरेन्द्र राई छन् ।