२६ बैशाख २०८१, बुधबार
Follow Us

बेलायती महारानी सधै ‘ऐतिहासिक नेपाल भ्रमण’ सम्झिन्थिन् !

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७९, शुक्रबार ०३:५७

लण्डन् । विहिवार निधन भएकी बेलायती महारानी एलिजाबेथसंग पछिल्लो पटक गत चैत तेस्रो साता बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले संवाद गरेका थिए ।

राजदूत आचार्यले बकिङ्घम प्यालेसमा आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा भिडियो लिंकमार्फत विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै जोडिएकी महारानीले आफ्नो ऐतिहासिक नेपाल भ्रमण सम्झेकी थिइन् ।

करिब १० मिनेटको उक्त संवादका अवसरमा बेलायत–नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशासमेत व्यक्त गरेकी थिइन् । महारानीले बेलायत र नेपालबीच सदियौं लामो मैत्रीपूर्ण तथा आत्मीय सम्बन्धको पनि चर्चा गरेको राजदूत आचार्यले जानकारी दिएका थिए । त्यस अवसरमा आचार्यले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट महारानी र बेलायती जनतालाई पठाएको शुभकामना सन्देश सुनाएका थिए ।

नेपाल भ्रमण

नेपालमा समेत लोकप्रिय रहेकी उनले दुई पटक नेपालको राजकीय भ्रमण गरेकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार एलिजाबेथ द्वितीय र राजकुमार प्रिन्सले सन् १९६१ र १९८६ मा नेपालको दुई पटक भ्रमण गरेका हुन् । दोस्रो विश्वयुद्धपछि अमेरिकाले नेतृत्व गरेको पश्चिमा र तत्कालीन सोभियत युनियनबीच शीतयुद्धको समय चलिरहँदा एलिजाबेथ–दम्पती नेपाल आएको थियो । सन् १९६१ मा पहिलो पटक आउँदा उनीहरूलाई काठमाडौंको त्रिभुवन विमानस्थलमा तत्कालीन राजा महेन्द्र र रानी रत्नले स्वागत गरेका थिए ।

राष्ट्रपतिको सन्देश
गत जेठमा बेलायतस्थित नेपाली र ब्रिटिस गोर्खा समुदायले पनि रानीको हीरक महोत्सव विभिन्न कार्यक्रम गरी मनाएको थियो भने नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सैनिक परेड, ‘थ्यांक्स गिभिङ’ र रिसेप्सन समारोहमा सहभागिता जनाएका थिए । उक्त अवसरमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि महारानीलाई बधाई सन्देश पठाएकी थिइन् ।