१६ चैत्र २०८०, शुक्रबार
Follow Us

केपी ओलीले सुरु गरे चुनावी अभियान

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७९, सोमबार ११:५८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनावी अभियान थालेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जालमार्फत् चुनावको अभियान थालेका हुन् ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउने एक साताअघि सोमबार ओलीले आफ्नो पार्टी सरकारमा गएपछि गर्ने कामको तालिका बनाइरहेको बताएका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउने कृषि क्षेत्रको विकासका लागि सुझाव मागेको बताएका छन् ।

साथै उनले अन्य विविध क्षेत्रको लागि पनि सुझाव माग्ने र सुझाव पाउने अपेक्षा गरेको बताएका ओलीले एमाले सरकारमा गएपछि गर्ने कामको मसिनोगरी कार्यतालिका बनाएर कार्यान्वयन गर्ने तयारी गरेको उल्लेख गरेका छन् । यसका लागि आवश्यक सुझाव र साथको अपेक्षा गरेको ओलीको भनाइ छ ।