१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूरोप सम्मेलनः दुई दर्जन देशका २ सय ५० प्रतिनिधि सहभागी हुने

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७९, मंगलवार १२:२९

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा २५ भन्दा बढी देशका २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।

आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने सो सम्मेलनको उद्घाटन कानून, न्याय तथा संसदस्य मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) गर्ने एनआरएनए यूरोप संयोजक चिन्तमणी सापकोटाले जानकारी दिए ।

सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, अर्थमन्त्रालय, श्रममन्त्रालय नेपाल उद्योग वाणिज्य महासंघ, संघका केन्द्रीय पदाधिकारी लगायतको विशेष उपस्थिति रहने छ ।

सम्मेलनमा गैरआवासीय नेपाली संघको आन्तरिक तथा नियमित मुद्दामा छलफल हुने आयोजकले जनाएको छ । गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, नेपालमा लगानी, महिला तथा युवा, सम्पतिको अधिकार नेपालमा पर्यटन प्रर्वद्धन, युरोपमा रहेका नेपालीहरुको मुख्य समस्या लगायतका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।

सम्मेलनको अवसर पारेर यूरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ स्वीडेनले लिएको छ ।

एनआरएनए स्वीडेनका अध्यक्ष राजकुमार पाठकका अनुसार होटल बुकिङ, यातायात, खाना व्यवस्थापनको जिम्मेवारी संघले लिएको छ । पाठकले सम्मेलनको तयारीको लागि बिभिन्न उपसमिति गठन गरिएको जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन युरोपस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई आग्रह गरिएको संघको युरोप संयोजक सन्तोष भट्टराईले बताए । यसअघि सम्मेलनलाई सफल बनाउन संघका क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणी सापकोटको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको थियो ।