१५ बैशाख २०८१, शनिबार
Follow Us

निर्धक्कसँग नेपालमा लगानी गर्नुहोस् : चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७९, बुधबार १५:०५

सोल । नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सोलमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सोलमा शाखा सञ्चालन गर्न प्रकृया अगाडि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन नेपालीहरूलाई आग्रह समेत गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताए।

अर्थमन्त्री शर्माले कोरियामा रहेका गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरेका छन्।

‘मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव रहेको छ। अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ प्रणालीबाट रेमिटेन्स भित्र्याउन तपाईहरूले सहजीकरण गर्नुपर्‍यो,’उनले भने।

द्रूत आर्थिक विकास र सम्मृद्धिको लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको बताउँदै उनले कोरियामा रहेका नेपालीहरूलाई मुलुकमा वैदेशिक लगानी र नयाँ–नयाँ प्रविधि भित्र्याउन पहल गर्न आग्रह गरे।

अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न मुलुकहरूमा रहेका नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालनका लागि प्रोत्साहन गर्दै कार्यक्रम गर्ने र विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रकृया सुरू गरेकोमा बैंकलाई धन्यवाद दिए।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरे।

‘म यहाँका गैर आवासीय नेपालीसाथीहरु तथा गैर आवासीय नेपाली संघलाई पनि अनुरोध गर्न चाहन्छु, आउनुहोस्, तपाई हामी हातेमालो गरेर अगाडि बढौँ। तपाई हाम्रो सहकार्य र हातेमालोबाट नै मुलुकको सम्मृद्धि सम्भव छ’ उनले भने।

‘म निजी क्षेत्रको छाता संगठनको वरिष्ठ उपाध्यक्ष, नेपालको सबैभन्दा ठूलो बैंकको अध्यक्ष तथा नेपालको एउटा व्यवसायिक समूह, आइएमई समूहको अध्यक्षको हैसियतले यहाँहरूलाई निर्धक्कसँग नेपालमा लगानी भित्र्याउन र भित्र्याउने वातावरण निर्माण गर्न अनुरोध समेत गर्न चाहन्छु ‘ उनले भने।

आइएमई समूहले गैर आवासीय नेपालीहरूसँगको सहकार्यमा लम्जुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको बताउँदै उनले पर्यटन, केबलकार, होटल, जलविद्युतलगायत अरु धेरै परियोजनाहरू पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैर आवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनाहरूमा काम गर्न सकिने बताए।

उनले ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सोलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रकृया सुरू गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनको लागि स्विकृति पर्खिरहेको बताए।

‘दक्षिण कोरियामा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सैद्धान्तिक स्विकृति लिइसकेका छौं। स्थानीय कानुनी परामर्शदाताको माध्यमबाट दक्षिण कोरियाको नियामक निकायमा बैंकको शाखा स्थापनाका लागि औपचारिक रूपमा अनुरोध गरेका छौँ। अबको केही समयभित्र बैंकको शाखामार्फत सम्पूर्ण बैंकिङ सेवाहरू सञ्चालन हुनेछ,’ उनले बताए।

दक्षिण कोरियाको नेशनल एसेम्ब्लीका सदस्य ली साङ्गेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरू नेपालका विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि तयार रहेको बताए।