१५ चैत्र २०८०, बिहीबार
Follow Us

फुटपाथ व्यवसायी माग: दसैँसम्म व्यवसाय गर्न पाउँ

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७९, बिहीबार ०४:४३

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् ।

काठमाडौँको माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आउनुभएका नुवाकोटका बलराम भेटवालले दसैँको समयमा काम गर्न दिन आग्रह गर्नुभयो । “हामी महानगरपालिकालाई सहयोग गर्न तयार छौँ, हामीले किनेर ल्याएको कपडा दसैँ अगाडिसम्म बिक्री गर्न दिइयोस्”, उहाँ भन्नुहुन्छ ।

भक्तपुरका भरत बस्नेत विगत ३३ वर्षदेखि माछापोखरीमा लत्ताकपडा बिक्री गर्दै आउनुभएको छ । “हामी बिहान दुई घण्टा र बेलुका दुई घण्टा कपडा बेच्दै आएका छौँ, दसैँ मुखमा आएको छ, दसैँको मुखमा हाम्रो रोजिरोटी नखोसियोस्”, बस्नेत भन्नुहुन्छ ।

धादिङकी यशोधा सुवेदी पनि लामो समयदेखि सोही स्थानमा व्यवसाय गर्दै आउनुभएको छ । “प्रयोगमा नआएको जग्गामा बिहान बेलुका व्यापार गर्दै आए पनि नगरपालिकाले हटाउन खोजेर हामीलाई समस्या पारिदियो”, उहाँ भन्नुहुन्छ ।

भेटवाल, बस्नेत र सुवेदी प्रतिनिधि पात्र मात्र हुन् । अहिले काठमाडौँ महानगरपालिकाले माछापोखरी क्षेत्रमा फुटपाथ व्यवसाय हटाउँदा ६० व्यवसायी मारमा परेका छन् । बिहान र बेलुकाको समयमा व्यापार गर्दै आएका उनीहरुसँग हालै रु ४० लाख मूल्य बराबरको सामान छ । दसैँको समयमा सामान बिक्री गर्न नदिँदा उक्त मूल्य बराबरको सामान थन्किने डर व्यवसायीमा रहेको छ ।