१५ चैत्र २०८०, बिहीबार
Follow Us

नर्सको अभिनय ‘तिमी मलाई मनपरेछ’ (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७३, बिहीबार ०७:१७

काठमाडौं । पेसाले नर्स हुन् । तर, कर र रहर उनी मोडल भइन् । हो, दिनरात अस्पतालको बेडमा विमारीको हेरचाह र उपचारमा खट्ने गरेकी पविता राईलाई मोडलका रुपमा समेत देख्न पाइने भएको छ । यो पछिल्लो दिनमा आएर पविताले ‘तिमी मलाई मनपरेछ’ भन्दै मोडलिङको नयाँ अनुभूति लिएकी छन् । उनको त्यो अनुभूतिमा केही करका कुरा छन् भने थोरै रहरका पनि ।
पाँचथर लुङुरुप्पाकी पविताले भनिन्, ‘सुरेन ताम्लिङ मेरो पुराना साथी हुन् । उनले मोडलिङको प्रस्ताव गरेपछि गरेकी हँु । मोडलिङ मेरो रहर पनि हो ।’ यसरी कर र रहरले मोडल बनेकी पविता अभिनीत म्युजिक भिडियो डिजिटल मिडिया यु–ट्यबमार्फत रिजिल भएको छ । ‘तिमी मलाई मनपरेछ’ गीतलाई सुरेन ताम्लिङले गाएका हुन् । जो ब्रिटिस आर्मीमा कार्यरत छन् ।
गायक तथा संगीतकार उत्तमजंङ लिम्बूद्वारा संगीतबद्ध ‘तिमी मलाई मनप¥यो’ बोल गीतलाई केही समयअघि छायांकन गरिएको हो । छोटो विदामा नेपाल आएका बेला सुरेनले यस गीतलाई भिडियो बनाएका हुन् । आफ्नो भिडियोमा एक नर्सलाई मोडलिङ गराउन समेत भ्याएका सुरेन भने अहिले बेलायतमै छन् ।
‘तिमी मलाई मनपरेछ’ गीतमा पवितासँग पछिल्लो सयम चर्चामा रहेका मोडल निराजन प्रधानले मोडलिङ गरेका छन् । भिडियोमा पविता र निराजनको प्रेम रोमान्स देख्न सकिन्छ । पहिलोपटक म्युजिक भिडियोमा मोडलिङ गरेको भएपनि पविताको अभिनय पर्फ्याक्ट छ । तर, पविताले भने पहिलोपटक क्यामेरा फेस गर्दा निकै गाह्रो भएको सुनाइन् ।
‘पहिलोपटक क्यामेरा फेस गर्दा नभर्स नै भएँ’ आफ्नो पहिलो मोडलिङ अनुभूति सुनाउँदै पविताले भनिन्, ‘टिभी हेरेजस्तो र देखेजस्तो सजिलो नहुँदोरहेछ ।’ ‘तिमी मलाई मनपरेछ’ भिडियोलाई हरी हुमागाइँले निर्देशन तथा छायांकन गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।
यस भिडियोमा मोडलिङ गरेपछि पवितालाई अहिले अन्य थुप्रै गीतमा मोडलिङका लागि प्रस्तावहरु आउन थालेका छन् । चाँडै नै प्रथम नेपाली तारा दीपक लिम्बूको ‘जाली माया…’ बोल गीतको भिडियोमा पनि उनी देखिँदैछिन् ।
समाजसेवासँग समेत जोडिँदै आएकी पविता भन्छिन्, ‘मलाई राम्रो आधुनिक र टिपिकल गीतमा मोडलिङ गर्ने रहर छ ।’ पेसाले नै सामाजिक दायित्यसँग जोडिएकाले आफूले मोडलिङ गरेको भिडियो पनि मनोरञ्नात्मकसँगै सन्देशमूलक हुनुपर्ने पविताको भनाइ छ ।