September 25, 2022
3:38 AM | 8:23 AM
डायस्पोरा

एनआरएनए स्वास्थ्य सम्मेलन: सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा

  17/09/2022 मा प्रकाशित

सिड्नी । तीन दिनसम्म अस्ट्रेलियमा संचालन हुने चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनको आज दोस्रो दिन हो । सम्मेलनमा विश्वभरबाट नेपाली स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । सम्मेलनको पहिलो दिन नेपाली चिकित्सकले स्वदेशमा गरेको उत्कृष्ट सेवाकोबारेमा छलफल भएको थियो । नेपालबाट गएका चिकित्सकले महामारीको समयमा दिएको सेवा र भोगेको दुख सुनाएका थिए ।

सम्मेलन आयोजक समितिका संयोजक डा सञ्जीव सापकोटाले सिड्नीमा सुरु भएको सम्मेलनको सबैभन्दा ठूलो भएको बताए । पहिलो दिन नेपालबाट सिड्नी पुगेका विभिन्न चिकित्सकले सेवाकाबारेमा प्रस्तुति दिएका थिए ।

नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञ चिकित्सक अरुन साही, डा. सागर पौडेललगायतले प्रस्तुति दिएका थिए । कार्यक्रममा बोल्ने सबै चिकित्सकले कोरोना महामारीको समयमा उल्लेख्य योगदान पु-याएको बताए । सीमित स्रोत र साधनका बावजुद पनि गुणस्तरीय सेवा दिएको उनीहरुको तर्क छ ।

नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठले कोभिडको महामारीमा हप्तौंसम्म एउटै उपकरणमा काम गर्नुपरेको सुनाए । बजारमा स्वास्थ्य उपकरणको चरम संकट भएपछि श्रेष्ठले ६० रुपैयाँमा पाइने एन ९५ मास्क ६ सय रुपैयाँ हालेर खरिद गरेको बताए ।

त्यस्तै फिनिसियन सागर पौडेलले कम समयमा ठूलो उपलब्धिका साथ काम भएको बताए । तर, स्वास्थ्य क्षेत्रमा संघ प्रदेश र स्थानीय तहबीचको समन्वय छैन । एकले अर्को निकायमा समन्वय नहुँदा सेवा प्रवाहमा समस्या परेको देखियो । यसलाई गम्भीर रुपमा लिन जरुरी छ ।

यता क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले कोरोना महामारीमा धेरै दीर्घरोगीको मृत्यु भएपनि क्यान्सरको मृत्युदर न्यून रहेको बताए । साहीले क्यान्सर लागेका बिरामी कोभिडमा धेरै न्यून मात्रै मरेको बताए । उनले समयमा रोग पहिचान गरे क्यान्सरबाट कोही पनि मर्न नपर्ने स्पष्ट पारे ।

६० रुपैयाँको मास्कलाई ६ सयमा किनेर सेवा दियौं

शिव श्रेष्ठ, बाल रोग विशेषज्ञ

का्भिड महामारीको समयमा सिमित स्रोत साधनका बिचमा हामीले उच्चतम गुणस्तरीय सेवा दियौँ । एकै पटक महामारी फैलदा सुरक्षाका कवजहरु विश्वभर सटेज हुन पुग्यो । एउटा माक्स पाउँदा पनि निकै खुसी लागेको थियो । ६० रुपैयाँमा पाइने माक्स ६ सय रुपैया हालेर किनियो एक हप्तासम्म प्रयोग गरियो । देशभरका शाखा कार्यलयमा उपकरण पठाइयो । बिरामी लिएर आएको एम्बुलेन्स प्रयोग गरेर सामग्री पठायौं ।

एनआरएनएले महामारीको समयमा नेपालमा धेरै प्रकारको सहयोग गरेको छ । देशमा महामारीको उच्चत बिन्दुमा पुग्दै गर्दा गैर आवासीय नेपाली संघ (एनआरएनए)ले अक्सिजन कन्सन्टेटर, माक्स, पीपीई, स्यानिटाइजर सहयोग गरेको थियो । म नेपाल चिकित्सक संघको वरिष्ठ उपाध्यक्ष भएको नाताले १६ वटा संघका शाखाहरुमा मेडिकल उपकरणहरु पुर्याइएको थियो ।

टेलिमेडिसिन सेवा सुरु गरेर दुर्गममा बसेका आम नागरिकहरुलाई चाहेको सेवा दिएका थियौं । घरबाटबाहिर निस्कन सक्ने अवस्था थिएन । ओपिडी बन्द थियो । त्यस्तो समयमा हामीले फोनको मार्फतबाट विशेषज्ञ सेवा दिएका हौं । केन्या, नैरोबी, अरबियन देशहरुबाट समेत नेपालीहरुले फोनकोमार्फत स्वास्थ्य परामर्श लिने काम गर्नु भएको थियो ।

स्वस्थ्य शिशु हामीले दिन नसकेको खण्डमा स्वस्थ नागरिक र स्वास्थ देशको परिकल्पना हुन सक्दैन । त्यसैले मैले रातको २ बजे पनि आवश्यक सेवा टेलिमेडिसिनमार्फत दिएको छु । म एउटा मात्रै रोगको बिरामी हेर्छु भनेर सम्भव छैन । झाडापखाला, बान्ता, निमोनिया जस्ता सबै खाले बिरामी हेर्नु परेको छ । अहिले रोग अनुसार चिकित्सक उत्पादन भइसकेका छन् । तर, पनि बिरामी जनरल प्राक्टिसेनकोमा

पहिला पुग्छन् । यो नभइ उपचार सम्भव पनि छैन । किनकी नेपालमा सुपर स्पेसालिष्ट अस्पताल बनेको अवस्था छैन । अहिले विश्वमा देखिएका रोगहरु नेपालमा पनि देखिएका छन् । कोरोनाको त्रास अझै बाँकी छ । हाल डेंगुले देशभर नागरिक बिरामी परेका छन् । यी रोगहरुलाई जित्न सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन ।

आर्थिक, जनशक्ति, उपकरण सबै हिसाबले सेवामा कठिनाई भने छ । हामी विकसित देश हैन । विकसित देशको जस्तो सम्पन्नता खोजेर पनि सकिँदन । तर, विगतको तुलनामा नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवा धेरै अगाडि बढेको छ ।

महामारीमा तीन तहको समन्वय अभाव देखियो

डा. सागर पौडेल पिजिसियन, डब्लुएचओ

देश संघीयतामा गएको छ । तीन तहको सरकार निमार्र्ण छ । तर, कुनै समन्वय छैन । महामारीमा आआफ्नै हिसावले काम गरेको देखियो । स्वास्थ्य क्षेत्रमा संघ प्रदेश र स्थानीय तह बीचको समन्वय अभावले सेवामा कठिनाइ भएको थियो ।

मैले महामारीमा भारत र नेपालमा बसेर सेवा दिए । एकीन तथ्यांक छैन तर, भारतमा ५० लाख नेपालीहरु छन् । भारत र नेपालमा क्लिनिकल प्राक्टिस गर्दै आएको छु । कोभिडले गर्दा कोभिड र नन् कोभिडको सेवा आधा–आधा भयो । हामीले भारतमा बसेर गरेको सेवा भनेको नेपाली बिरामीहरुलाई उपचारमा सहजिकरण थियो ।

एम्स अस्पतालमा अध्ययन गरेको नाताले उपचारमा गएका नेपालीको समय चाँडै मिलाउने काम हाम्रो थियो । एम्समा ६ देखि १ वर्षसम्म पालो पाउन समय लाग्थ्यो । हामी पनि कोभिडमा टेलिमेडिसिन सेवा दियौं । अस्पताल आउनै पर्नेबाहेक बिरामीलाई फोनमार्फत सहजीकरण गर्यौं । कोभिडको समयमा नन् कोभिड बिरामीलाई पनि उपचारमा व्यवस्थापन गरेका थियौं ।

नेपालमा कोभिड गाइडलाईन्स तीब्र गतिमा बन्यो । त्यस्तै आइसोलेसन पनि छिटो बनेको थियो । पीपीई स्थानीय निकायमा बन्यो । एनआरएनए र नेपाल चिकित्सक संघले सहयोग साथै उपकरण वितरणलाई छिटो छरितो र व्यवहारीक बनाएको थियो । यो धेरै राम्रो काम थियो । तर, सरकारी अस्पतालमा स्रोत साधनको कमिले गर्दा सेवा प्रवाहमा समस्या आएको थियो । जसले बिरामी सरकारी अस्पताल पुग्दा पालो पर्खनु पर्ने लाइन बस्नुपर्ने समस्या थियो । निजीमा अचाक्ली महँगो भएकाले बिरामी जान सक्ने अवस्था थिएन । एम्बुलेन्स कम र भएका एम्बुलेन्समा पनि चाहिने स्वास्थ्य सामग्री नहुँदा सेवा प्रवाहमा समस्या आएको थियो ।

कोभिडले क्यान्सरका बिरामीलाई सचेत गरायो

डा अरुण शाही, क्यान्सर रोग विशेषज्ञ

कोभिड महामारीको समयमा क्यान्सरका रोगीहरु धेरै सचेत भएको पाइयो । संसारको तथ्यांक हेर्दा पनि कोभिडले क्यान्सरका बिरामीलाई अन्यको अनुपातमा कम क्षति गरेको छ । लङ्क्स क्यान्सर र रगतको क्यान्सरका बिरामी बढी प्रभावित भएका थिए । तर पनि नेपालको तथ्यांक हेर्दा धेरै क्यान्सरको बिरामीलाई मृत्यु गराएन ।

कोभिड नयाँ रोग भएकाले यसका बारेमा कुनै जानकारी थिए । तर, हामीले जे राम्रो प्राक्टिस छ त्यसलाई फलोअप गरेर बिरामीको उपचारमा जुट्यौं । क्यान्सर प्रतिको धारणा परिवर्तन गर्नु पर्छ । रोग लागेपछि औषधि खानेभन्दा पनि रोग नै लाग्न नदिन समयमा पहिचान गरेको खण्डमा ८० भन्दा बढी प्रतिशित बिरामी बचाउँन सकिन्छ । क्यान्सरप्रति नराम्रो सोच छ । डर लाग्दो हैन सुगर, प्रेसर जस्तो रोग क्यान्सर हैन ।

महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र ब्रेथ क्यान्सर बढी देखिएको छ । क्यान्सर रोक्ने भ्याक्सीन नेपालमा छैन । त्यसैले एनआरएनए हरुले सरकारसँग समन्वय गरेर स्वदेशमा झिकाई विद्यालय स्तरका बालबालिकामा लगाउन सके क्यान्सरबाट धेरैलाई बचाउन सकिन्छ । ब्रेथ क्यान्सर संसारमा पहिलो हो भने नेपाल दोस्रोमा पर्छ ।

सरकार गैरजिम्मेवार देखियो

डा सन्जीव सापकोटा

नेपालमा डेल्टा भेरिएन्टले २५ प्रतिशतलाई बढी समस्या बनायो । अक्सिजनको माग धेरै बढ्यो । धान्न सक्ने अवस्था नै रहेन । कोभिड भ्याक्सिन उत्पादन भएको थिएन तर, किन्ने अप्सन थियो ।

धेरै देशले भ्याक्सिन उत्पादन कम्पनीसँग पहिला नै बुकिङ गरेर राखेका थिए । नेपालले पनि केही बुकिङ गरेको थियो । तर, सम्झौता अनुसार सन् २०२१ मा आउँनु पर्ने भ्याक्सिन आएन । समयमा भ्याक्सिन आवश्यकता अनुसार आएको भए मृत्यु धेरै कम हुने थियो ।

सरकारले भ्याक्सिन खरिद गर्न नचाहेको हो । एउटै भ्याक्सिन बेलायत, अमेरिकाले किन्न सक्ने नेपालले नसक्ने भन्ने हुन्छ ? अन्य सबै कार्यक्रम छाडेर पनि खोप खरिद गर्नुपर्ने थियो । भ्याक्सिन आयो तर, कम र ढिलो आयो । यसले गर्दा नेपालको स्वास्थ्य प्रणाली कमजोर साबित भयो । देशमा भ्याक्सिन कम आउँनुको कारण गैर जिम्मेवारी हो । आगामी दिनमा यस्तो हुन नदिन सबै क्षेत्र गम्भिर बन्नु पर्छ ।

प्रतिक्रिया