७ बैशाख २०८१, शुक्रबार
Follow Us

सिटी शीर्ष स्थानमा उक्लियो

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७९, आईतवार ०६:१६

लन्डन । १० खेलाडीमा सीमित उल्भ्सलाई ३-० ले पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिबार राति जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिटीको जितमा ज्याक ग्रिलिस, एर्लिङ हालान्ड र फिल फोडेनले एक एक गोल गरे ।

खेलको पहिलो मिनेटमै केभिन डि ब्रुयनाको पासमा ग्रिलिसले सिटीलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उल्भ्सका नाथन कोलिन्सले ३३औं मिनेटमा रातो कार्डको दर्शन गरेपछि घरेलु टिम १० खेलाडीमा सीमित बनेको थियो । ६९औं मिनेटमा फिल फोडेनले सिटीका लागि तेस्रो गोल गरे । फोडेनलाई पनि डी ब्रुयनाले नै पास उपलब्ध गराएका थिए ।

जितसँगै सात खेलबाट १७ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट ६ अंक जोडेको उल्भ्स १६औं स्थानमा छ ।प्रिमियर लिगअन्तर्गत आजै भएका अन्य खेलहरुमा एस्टोन भिल्लाले साउथह्याम्पटनलाई १-० ले, फुलहमले नटिङघम फरेस्टलाई ३-२ ले पराजित गर्यो ।

बायर्नको पहिलो हार, डर्टमन्ट शीर्ष स्थानमा
जर्मन बुन्डेसलिगाको नयाँ सिजन २०२२/२३ मा साविक विजेता बायर्न म्युनिखले पहिलो हार बेहोरेको छ । बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्न आक्सबर्गसँग १-० ले स्तब्ध बन्यो ।

घरेलु मैदानमा आक्सबर्गलाई जित दिलाउन ५९औं मिनेटमा मर्जिम बेरिसाले निर्णायक गोल गरे । यसअघि घरेलु लिगमा लगातार तीन बराबरी खेलेको बायर्नले युइएफए च्याम्पियन्स लिगमा भने स्पेनिस क्लब बार्सिलोनालाई २-० ले पराजित गरेको थियो ।

यो हारसँगै बायर्नले शीर्ष स्थानका बोरुसिया डर्टमन्डको अंक दुरी कम गर्ने सुनौलो मौका गुमायो । बायर्नले लिगमा सात खेलबाट १२ अंक जोडेको छ । जुन शीर्ष स्थानका डर्टमन्डभन्दा तीन अंक पछि हो ।

लिगअन्तर्गत शनिबारै भएको खेलमा डर्टमन्डले साल्केलाई १-० ले पराजित गर्यो । डर्टमन्डको जितमा युसोउफा मोउकोकोले निर्णायक गोल गरे । जितसंगै डर्टमन्ड १५ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ ।

लेवान्डोस्की चम्कदा बार्सिलोनाको सहज जित
१० खेलाडीमा सीमित इल्चेलाई ३-० ले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा मेम्पिस डिपाएले एक गोल गरे । खेलको १४औं मिनेटमा गोन्जालो भर्डुले रातो कार्ड पाउदै मैदान छोडेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।