१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अध्यक्ष कुल आचार्य सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७९, सोमबार ०७:०१

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष आचार्य सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्।

संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले उनलाई उक्त पदक प्रदान गरेकी हुन्।

संसारका ८० भन्दा बढी मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघ प्रवासी नेपालीहरुको अन्तर्राष्ट्रिय संजाल हो। गत मार्च २०२२ मा एनआरएनए आइसीसीको अध्यक्षमा निर्वाचित भएका आचार्य हाल नेपालको संविधान २०७२ मा उल्लेख गरिएको गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गराउने मिशनमा खटीरहेका छन् ।

सानै देखि सामाजिक काममा रुचि राख्ने आचार्यले आफु जन्मेको पर्वत, धाइरिङ्ग, मा आफ्नै स्वर्गीय पिताको नाममा एउटा विद्यालय स्थापना गरेका छन्। यस बाहेक बेलायत र नेपालमा थुप्रै संघसंस्था, बाल गृह तथा वृद्धाश्रमहरुलाइ उनले सहयोग प्रदान गर्दै आएका छन्।

एनआरएनए युकेको अध्यक्ष हुँदा उनले नेप्लिज नर्सिङ्ग एसोसियसनसंग मिलेर जुम्लामा एउटा बर्दिंग सेन्टर स्थापना गरेका थिए। उक्त बर्दिंग सेन्टरले प्रसुति सेवा प्रदान गरेर कैयौं शिशु तथा महिलाहरुको ज्यान बचाई रहेको छ। त्यस्तै उनले नवलपरासी जिल्लाको सुस्तामा रहेका विद्यालयलाइ पनि आर्थिक सहयोग गरेका थिए।

‘यो सम्मान मलाई व्यक्तिगत रुपमा भन्दा पनि सिंगो गैरआवासीय नेपाली समुदायलाई गरिएको सम्मानको रुपमा मैले लिएको छु,’ आचार्यले भने। उनले आगामी दिनमा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन तथा संसारभरि रहेका नेपालीहरुको सीप, पूँजी तथा अनुभव नेपाल र नेपालीको हितमा उपयोग गर्न आफु अरु बढी सक्रिय भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सामाजिक काम बाहेक नेपालमा लगानी आकर्षित गरी रोजगारी अभिवृद्धि गर्न पनि उनले काम गरिरहेका छन्। नेपालमा बैंकिंग, जलविद्युत लगायतका क्षेत्रमा लगानी गरेका आचार्य गैर आवासीय नेपालीहरुले स्थापना गरेको ‘एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी’ को संचालक समिति सदस्य पनि हुन्।

एनआरएनएको युरोप क्षेत्रीय संयोजक, उपाध्यक्ष तथा सल्लाहकारको रुपमा काम गरि सकेका आचार्यले प्रवासमा नेपाली भाषा, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्न एवं दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालसंग जोड्न अभियान नै चलाएका थिए। सन् २०१५ मा नेपालमा महाभूकम्प गएको बेला युरोपभरि रहेका गैरआवासीय नेपाली तथा अन्य संघ संस्थाहरुबाट करोडौं रुपियाँ बराबरको सहयोग नेपाल पठाउन उनी सफल भएका थिए। त्यस्तै कोभिड १९ महामारीको बेला स्वास्थ्य सहयोग जुटाउनुका साथै विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता गराउन पनि उनले रात दिन काम गरेका थिए। उनले संघको उपाध्यक्ष रहंदा काठमाडौंको बागमती नदी किनारमा शंखमुल पार्क निर्माण कार्यको संयोजन गरेका थिए।

२०२९ सालमा जन्मिएका ५० वर्षीय आचार्य बेलायतमा एक सफल उद्यमीका रुपमा सुपरिचित छन्। उनको ‘होली काउ ब्रान्डमा संचालित व्यवसायले कैयौं नेपाली तथा अन्य मुलुकका व्यक्तिहरुलाई रोजगारी दिएको छ। उत्तरी लण्डनमा आफ्नो परिवारसहित बसोबास गर्ने आचार्यले भने, ‘ मातृभूमिको सेवा नै मेरो जीवनको प्रमुख लक्ष हो।‘