१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सन्दीपलाई कसरी खोज्दै छ प्रहरीले ?

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७९, बुधबार ०६:११

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको आरोप लागेको दुई साता हुन लाग्यो । र, उनले नेपाल आएर कानूनको सामना गर्छु भनेको पनि दस दिन भइसक्यो । तर, सन्दीप नेपाल आइपुगेका छैनन् ।

आउँछु भनेर विश्वास दिलाएका उनी अहिले कहाँ छन् भन्ने जानकारी पनि प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) लाई छैन । आफैं सम्पर्कमा नआएपछि प्रहरीले इन्टरपोलमार्फत उनको खोजी थालेको छ ।

भदौ २४ गते अर्थात् सेप्टेम्बर ९ मा सन्दीपले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू आउने बताएका थिए । तर, आउँछु भनेको १० दिन बित्दा पनि सन्दीप नेपाल आएका छैनन् । कता छन् भन्ने सूचना प्रहरी र क्यान दुबैलाई छैन । सम्पर्कविहीन छन् । आफूमाथि लागेको आरोपको प्रतिरक्षाका लागि नेपालबाट कानून व्यवसायी झिकाएर सिंगापुरमा छलफल गरेको चर्चा चले पनि पुष्टि भइसकेको छैन ।

लामिछाने सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत खोजी शुरु गरेको छ । उनीसँग अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत मुलुकको भिसा रहेकाले आफूहरु ति देशका सुरक्षा अधिकारीसँग पनि सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । तर, सन्दीप कुन देशमा छन् भन्ने चाहिँ पत्ता लागेको छैन ।

ग्लोबल स्टारको छवि बनाएका लामिछाने आफैं आएर अनुसन्धानमा सहयोग गर्लान् भन्ने विश्वासमा रहेको प्रहरी दिन बित्दै जाँदा झस्किएको छ । आरोपित विदेशमा रहेको जान्दा–जान्दै पनि सबै सूचना सार्वजनिक गर्नुको फाइदा सन्दीपले उठाएको हो कि भन्ने आशंकामा पुगेको प्रहरी उनी कसैगरी पनि फुत्कन भने नसक्ने दाबी गर्छ । सुरुमा क्यानले पनि सम्पर्कमा रहेको भन्दै प्रहरीलाई उनी आफैं आउने विश्वास दिलायो । तर, कप्तानबाट हटाएपछि सन्दीप क्यानको पनि सम्पर्कमा छैनन् ।

१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ गते मा जबर्जस्ती करणीको कसुरमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले भदौ २३ मै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो । अदालतबाट पाएकै दिन प्रहरीले पक्राउ पुर्जी जारी गर्दै उनलाई फरार सूचीमा राखेको थियो । भदौ तेस्रो साता वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका बेला सन्दीपविरुद्ध जाहेरी परेको थियो । जाहेरीमा भदौ ५ मा लामिछानेले ती किशोरीलाई जबर्जस्ती नगरकोट पुर्‍याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पुर्‍याई जबर्जस्ती करणी गरेको उल्लेख छ ।