१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए युरोप क्षेत्रीय बैठकको तयारी पुरा

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७९, बुधबार १७:५२

लण्डन् । ‘पार्टनरसीप इन एक्सन फर ट्रन्सफरमेसन’ भन्ने नाराका साथ आयोजना हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय बैठकको तयारी पूरा भएको छ । एनआरएनए यूरोप क्षेत्रले यही सेप्टेम्बर २४ र २५ तारिखमा स्विडेनको राजधानी शहर स्टकहोममा १४ औं युरोपेली क्षेत्रीय बैठक संगै युवा, १२ औं महिला तथा विज्ञ सम्मेलनको आयोजना गर्न लागेको हो । युरोप क्षेत्रले भेला आयोजनाका निमित्त आन्तरिक तयारीहरु लगभग पुरा गरिसकेको जानकारी गराएको छ ।

‘गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखी लिएर हिडिरहेको कार्यदिशालाइ परिवर्तन नगरी रुपान्तरण गरेर अगाडि बढ्नु पर्ने चाहना यससंग आवद्ध सदस्यहरू र यससंग सहकार्यमा हातेमालो गरिरहेका निकायहरुमा रहेको हामीले महसुस गरेका छौ । सोही रुपान्तरणको दिशामा संघलाई लैजानका निमित्त यस सम्मेलनले मार्गचित्र कोर्ने हाम्रो विश्वास रहेको छ’, संयोजक तथा भेला आयोजना समितिका अध्यक्ष चिन्तामणी सापकोटा र सन्तोष भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसपटकको क्षेत्रीय भेलाका हरेक सत्रमा युवा र महिलाको सक्रिय भूमिका र सहभागिता खोज्नुका साथै कार्यक्रममा सबै विषयहरूको समस्या र समाधानको बारेमा छलफल गरी त्यसबाट आएको निस्कर्षलाई व्यावहारिक जीवनमा रूपान्तरण गर्न प्रयत्नशील रहने आयोजकले प्रतिबद्धता व्यक्त गरेका छन् । नारा जस्तै कामबाट पनि हामीले गैरआवासीय नेपाली हरुको भावानालाइ समेटने विश्वास लिएको आयोजकले जनाएका छन् ।

भेलालाई सफल तुल्याउनका निमित्त क्षेत्रीय पदाधिकारीहरुको बैठकले विभिन्न समिति, उपसमितिहरुको गठन संगसंगै भेलालाई उपलब्धिमूलक बनाउनका निमित्त सरोकार राख्ने व्यक्तिहरु तथा निकायहरुसंग छलफल गरेको बताइएको छ । भेला आयोजनाका निमित्त क्षेत्रीय संयोजकद्वयको अध्यक्षतामा युरोप क्षेत्रका पदाधिकारीहरु, युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरु, सम्बन्धित राष्ट्रिय समन्वय परिषदका अध्यक्ष र महासचिवहरुलाई पदेन सदस्य, युरोप क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय पदाधिकारीहरुलाई समितिको पदेन सल्लाहकार राखी एक बृहत् आयोजक कमिटि गठन गरिएको छ । समितिको सदस्य सचिवको जिम्मेवारी विगतको परम्परालाई निरन्तरता दिंदै आयोजक एनसीसी स्विडेनका अध्यक्ष राजकुमार पाठकलाई दिइएको छ ।

‘गैरआवासीय नेपाली संघको पछिल्लो कठिन परिवेशमा हाम्रा सामु थुप्रै चुनौतीका पहाडहरु छन् । एकातर्फ हाम्रा आफ्ना कार्यक्रमहरुको निरन्तरताका विषयहरु छन् भने अर्को तर्फ सामूहिक एकताको आवश्यकता पनि खटकिरहेको छ । संघले आजका दिनसम्म आर्जन गरेको विश्वासको वातावरणलाई जोगाउनुपर्ने आवश्यकता हाम्रो सामु छ । यस्तै चुनौतीहरुका चाङ्गको बावजुद गैरआवासीय नेपालीहरुको एकता र सहकार्य नै आजको आवश्यकता भएको हामीले महसुस गरेका छौं । यही आवश्यकतालाई सम्बोधन गर्नु हामी सबैको जिम्मेवारी हो भन्ने कुरामा कुनै शंका नभएको समग्र गैरआवासीय नेपालीहरुको बुझाई छ’, विज्ञप्तिमा छ ।

विज्ञप्तिमा गैरआवासीय नेपाली संघ नेपाल सरकारको सच्चा साझेदार हो भने नेपाल र नेपालीहरूको विश्वास प्राप्त संस्था पनि हो । हामी हाम्रा सबै गतिविधि र कार्यक्रममा सबै निकाय संस्था र सरोकारवालाहरूसंग परिणाममुखी सहकार्य गर्न चाहेको उल्लेख छ । ‘हाम्रा गतिविधिहरू रूपान्तरणको निम्ति केन्द्रित गर्न चाहन्छौं । कार्यक्रमको सफलतामा यहाँहरूको सकारात्मक भूमिका संगै सहकार्यको अपेक्षा गर्दछौं । साथै, यही सप्ताहन्तमा स्विडेन मा भेट्ने विश्वास पनि लिएका छौं’, संयोजक तथा भेला आयोजना समितिका अध्यक्ष चिन्तामणी सापकोटा र सन्तोष भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेखछ ।