१५ चैत्र २०८०, बिहीबार
Follow Us

इंग्ल्यान्डविरुद्ध पाकिस्तानको कीर्तिमानी जित

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७९, शुक्रबार ०४:५९

काठमाडौं । कप्तान बाबर आजम र मोहम्मद रिजवानले २ सय ३ रनको साझेदारी गरेपछि पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० आईमा १० विकेटको कीर्तिमानी जित निकालेको छ । यससँगै सात खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको थियो ।

जितका लागि २०० रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा बिना विकेट २०३ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबरले ६६ बलमा अविजित १ सय १० रन बनाए । यस्तै, रिजवान ५१ बलमा अविजित ८८ रन जोडे ।

टी-२० आई क्रिकेट इतिहासमा कुनै टोलीले बिना विकेट पूरा गरेको यो सर्वाधिक ठूलो लक्ष्य हो । न्युजिल्यान्डले सन् २०१६ मा पाकिस्तानविरुद्ध १ सय ६९ रनको सर्वाधिक लक्ष्य पूरा गरेको थियो ।

यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोली इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक अविजित ५५ रन बनाए । यस्तै, बेन डकेटले ४३ रन जोडे ।

पाकिस्तानका शाहनवाज दाहनी र हरिस रौफले २ विकेट लिए ।