१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपतिविरुद्धको मुद्दामा सुनुवाइ दसैँपछि

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७९, शनिबार १२:०८

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै दर्ता भएका रिट निवेदनमाथि दसैँपछि मात्रै सुनुवाइ हुने देखिएको छ । रिटमाथि हिजाे शुक्रबार सुनुवाइ हुन सकेन । गोलाप्रथाबाट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा तोकिएको मुद्दा ३२औँ नम्बरमा परेको थियो । तर, समयाभावले पालो नआएका कारण आइतबार पेसीमा चढ्ने गरी पाँचवटै रिटलाई शुक्रबार हेर्न नभ्याइनेमा राखिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले समय अभावले सुनुवाइ आइतबारलाई सारेको बताए । संघीय संसद्का दुवै सदनबाट दोस्रोपटक पारित भएर आएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध अधिवक्ता सागर बराल, अधिवक्ता सुनीलरञ्जन सिंह, अधिवक्ता सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालय शीतलनिवासलाई विपक्षी बनाई मुद्दा दायर गरेका छन् ।

संविधानको धारा ११३ (४) को पुनर्विचारका लागि पठाएको विधेयक दोस्रोपटक आएपछि प्रमाणीकरण गर्नैपर्ने बाध्यकारी व्यवस्था उल्लंघन गरेको भन्दै रिट निवेदनमा राष्ट्रपतिका नाममा परमादेश माग गरिएको छ ।

नागरिकताजस्तो संवेदनशील विषयसँग जोडिएको मुद्दामा आइतबार पेसी तोकिए पनि पालो आउने सम्भावना न्यून रहेको अदालतकै कर्मचारी बताउँछन् । फेरि न्यायाधीश शर्माको इजलासमा सुनुवाइ हुन बाँकी अन्य मुद्दा पनि धेरै छन् । यो मुद्दाभन्दा अगाडि सभामुख र उपसभामुखको कार्यकाल र सेवासुविधासम्बन्धी मुद्दा पेसीमा छ, जसको सुनुवाइ शुक्रबार भएको छैन ।

आइतबार पालो नआए नागरिकता विधेयकसम्बधी मुद्दामा सुनुवाइ दसैँपछि मात्र प्रारम्भ हुनेछ । किनभने सोमबार १० असोज घटस्थापनादेखि देशभरका अदालतमा दसैँ बिदा हुनेछ । यो अवधिमा बन्दीप्रत्यक्षीकरण मुद्दा मात्रै सुनुवाइ हुनेछ । ‘आइतबार पालो आइहाल्यो भने आइहाल्यो, आएन भने त दसैँपछाडि नै हुन्छ । बीचमा यो मुद्दा हेर्नुपर्दैन । बन्दीप्रत्यक्षीकरण मात्रै हुन्छ,’ सर्वोच्चको मुद्दा महाशाखाका सहरजिस्ट्रार बाबुराम दाहालले भने ।