१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डेंगु बिरुद्धको भ्याक्सिन ल्याउन सरकारलाई एनआरएनएको सुझाव

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७९, आईतवार १६:४९

लण्डन् । नेपालमा डेंगु भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ४ सय ९२ पुगेको छ। ७ वटा प्रदेश मध्ये बागमती प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित छन्। बागमती प्रदेशमा मात्रै १९ हजार जना डेंगु सङ्क्रमित छन्।
पछिल्लो २४ घण्टामा डेंगुका १५ सय बढी सङ्क्रमित भेटिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। डेंगु नियन्त्रणको सरकारी प्रयास भने निष्प्रभावी बनेको छ। डेंगु सङ्क्रमण झन् झन् बढ्दो अवस्थामा छ। मुस्ताङ बाहेक देशभरका जिल्लामा डेंगु सङ्क्रमणले आक्रमण गरेको छ। डेढ महिनामा २९ जनाको मृत्यु भइसकेको छ।

डेंगु नियन्त्रणका लागि गैर आवासीय नेपाली सङ्घले पहल थालेको छ। एनआरएनएका अध्यक्ष रबिना थापाको पहल र एनआरएनए विश्व स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाको समन्वयमा एनआरएनए ग्लोबल हेल्थ कमिटीले आइतबार डान्फे केयरसँग सहकार्य गरी डेंगु भाइरल रोगको रोकथाम, प्रारम्भिक उपचार र व्यवस्थापनबारे जनचेतना जगाउन वेबिनार आयोजना गरेको छ।

वेबिनार कार्यक्रममा एनआरएनए अध्यक्ष थापाले नेपालमा रहेका गैर आवासीय नेपालीका परिवार र एनआरएनएका कर्मचारीलाई डेंगु सङ्क्रमण देखिएको बताइन। उनले डेंगु सङ्क्रमण नियन्त्रणका लागि सरकारसँग मिलेर काम गर्न आवश्यक सल्लाह सुझाव दिन आग्रह पनि गरिन्।

एनआरएनए विश्व स्वास्थ्य समितिका संयोजक डा। सापकोटा डेंगुको सङ्क्रमण उच्च हुँदा रगतको समेत अभाव भइरहेको सुनिएको बताए। उनले रक्तदान गर्न इच्छुक सबैलाई अनुरोध पनि गरे।
वरिष्ठ चिकित्सक डाक्टर सागर पौडेलले डेंगु सङ्क्रमण फैलन नदिन एनआरएनए सचेत हुनुपर्ने बताए। उनले ठ्याक्कै ट्रिटमेन्ट नभएकाले जनचेतना जगाउन एनआरएनएले सहयोग गर्न सक्ने बताए। ‘सरकारले पनि आफ्नो तर्फबाट जनचेतना जगाउने काम गरिरहेको छ,’उनले भने,‘एनआरएनएले सरकारसँग मिलेर धेरै काम गर्न सक्छ।’

डेंगु सङ्क्रमण हुनै नदिन लामखुट्टेबाट टाढा रहनु पर्ने सुझाव पौडेलले दिए। घर वरिपरि पानी जम्न नदिने, मास्क लगाउने र व्यक्तिगत सुरक्षाका लागि पुरा बाउला भएको कपडा लगाउनु पर्ने सुझाव पौडेलको छ।

डान्फे केयरका म्यानेजर डाक्टर प्रभात अधिकारीले ज्वरो आएर जिउ दुखेको आधारमै डेंगु भएको मान्न नसकिने बताए। उनले डाक्टरसँग सल्लाह गरेर परीक्षण गरेपछि मात्रै औषधी सेवन गर्न सुझाव दिए। डेंगुको सङ्क्रमण भएको व्यक्तिले पेनकिलर सेवन गरे प्राणघातक समेत हुनसक्ने अधिकारीले बताए।
सास फेर्न गारो भए, छाती दुखे, बान्ता भइरहे, पेट एकदमै दुखे, पिसाब कम हुने र ठुलठुलो कालो धब्बाहरू छालामा देखिन थालेमा तत्काल बिरामीलाई अस्पताल लैजान उनले सुझाव दिए।

डान्फे केयर र एनआरएनएको सहकार्यमा हटलाइन सेवा सुरु गरेको उनले जानकारी दिए। डेंगुको उच्च जोखिममा भए तत्काल चिकित्सकको सम्पर्कमा जानु पर्ने उनले बताए। डेंगुको खास उपचार नभएको बताउँदै उनले डेंगु लाग्दा एन्टिवायटिक नखान सुझाव दिए। प्रशस्त मात्रा पानी र झोलिलो कुरा खानुपर्ने उनले बताए।

यो मान्छेबाट मान्छेमा सर्दैन। लामखुट्टेको टोकाइबाट नै सर्ने हो। ‘ज्वरो आएको, टाउको दुखेको, जिउ दुखेको बिरामीले खाने औषधी सिटामोल मात्रै हो,’ डाक्टर अधिकारीले भने,‘सिटामोल बाहेक बजारमा पाइने कडा औषधी नखानु होला।’ उनले लामखुट्टे भन्दा पनि लामखुट्टेले पार्ने अण्डा ध्वस्त पार्नुपर्ने बताए।

‘हरेक दूईतीन महिनामा विभिन्न रोगको समस्या आइरहेको छ। यसका लागि विज्ञहरूको टोली बनाएर केन्द्र सरकारदेखि स्थानीय तहसम्म एउटा सशक्त हेल्थ टिम बनाएर जानुपर्छ,’उनले भने,‘सुरुको डेंगु घातक हुँदैन। त्यसपछिको डेंगु घातक हुने भएकाले भ्याक्सिन पनि उपलब्ध गराउन सकिन्छ।’
उनले विदेशमा भ्याक्सिन उपलब्ध भए पनि त्यो पहिलो डेंगुको सङ्क्रमणका लागि नभएको बताए। दोस्रो, तेस्रो घातक डेंगु नहोस् भन्नका लागि त्यो भ्याक्सिन लगाउने गरिएको उनले सुनाए।
उनले अर्को वर्षको डेंगु सिजनभन्दा अगाडि विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त भ्याक्सिनहरू नेपालमा ल्याउन सकिए धेरै ठुलो पहल हुने बताए।