१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अध्यक्ष थापाद्धारा पर्यटन पदयात्राको उद्घाटन

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७९, मंगलवार १२:४९

नयाँ पर्यटकीय स्थलको खोजी गर्दै पोखरामा पर्यटन दिवसरको अवसरमा पदयात्रा गरिएको छ।

मंगलबार पर्यटकीय स्थलको खोजी गर्न पोखरा महानगरपालिका वडा १३, ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा र एनआरएन गैह्र आवासीय नेपाली संघको संयुक्त आयोजनामा पदयात्रा भएको हो।

पदयात्राको उद्घाटन गैह्र आवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले गरेकी हुन्।

पर्यटकीय स्थलको खोजी गर्न काँहुखोला-भञ्ज्याङ-चिप्लेटी-बिहाडा-महाप्रभुधाम-मणिदिप-कसेरी हुँदै पदयात्रा भएको पोखरा महानगरपालिका वडा १३ अध्यक्ष किरण बरालले जानकारी दिए।

उनका अनुसार पदयात्राको दूरी ८ देखि १० किलोमिटर थियो। पदयात्रामा करिब दुई सय जना सहभागी भएका थिए।

स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा, पर्यटन व्यवसायी तथा वडाबासीको उपस्थिति रहेको उनले जानकारी दिए।

पोखरामा पर्यटक स्थल धेरै भएकाले त्यस्ता स्थानको खोजी गरी संरक्षण गरेर प्रचारप्रसार गर्न पदयात्राले सहयोग गरेको उनको भनाइ छ।

त्यस्तै, पदयात्रामा सहभागी गैह्र आवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले पदयात्राले पोखरामा लुकेका पर्यटक क्षेत्रलाई अगाडि ल्याउन सहयोग गर्ने धारणा व्यक्त गरिन्।

‘पदयात्रा भएका ठाउँबाट पोखराको रमणीय स्थलको अवलोकन गर्न सकिन्छ’ उनले भनिन्, ‘यस्ता ठाउँको उचित प्रचारप्रसार गर्न सकेमा पर्यटकको आगमनको संख्या बढाउन सकिन्छ।’

पर्यटकीय पूर्वाधारका लागि आवश्यक संरचना निर्माण गर्न अध्यक्ष थापाले सुझाव दिइन्।

‘पर्यटकको संख्या वृद्धि गराउन बाटोको विकास गर्नुपर्छ’ उनले अगाडि थपिन् ‘हामीले पर्यटन पवर्द्धन गर्दा पर्यटकले बाटो तथा भौतिक संरचनालाई लिएर उनीहरूले सहजता महसुस गरून्।’