१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डेंगुका २८ हजार संक्रमित, ३८ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७९, बिहीबार २२:१०

काठमाडौं । सरकारी तथ्यांक अनुसार गत साउनदेखि मात्रै नेपालमा डेंगुले २८ हजार मानिस प्रभावित भइसकेका छन् भने ३८ जनाको मृत्यु भइसकेको छ । तर, नियन्त्रण तथा रोकथामका लागि केन्द्रदेखि स्थानीय सरकार मस्त निन्द्रा परेजस्तो देखिएको छ । एकले अर्कालाई दोष लगाएर बस्नमा केन्द्रित छन् ।

कतिपय घरपरिवारका सबै सदस्य संक्रमित भएका छन् । दैनिक मृत्युको संख्या पनि बढेको छ । सरकारी अस्पताल डेंगु बिरामीले भरिएका छन् । कतिपय जाँच नगराई घरमै बसिरहेका छन् । डेंगु संक्रमण भयावहको रुप लिँदा संघीय सरकारको प्राथमिकता चुनावी भागबण्डामा केन्द्रित देखिन्छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारी पनि स्थानीय सरकारले खोज तथा नष्ट अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको स्वीकार गर्छन् । ‘स्थानीय तहले नियन्त्रणका लागि ठोस योजना बनाउन सकेन । कम्तीमा पनि हप्ताको दुई पटक अभियान गर्न आवश्यक छ,’ अधिकारीले अनलाइखबरसँग भने, ‘अहिले खोज तथा नष्ट अभियानले निरन्तरता पाउन सकेन छैन । यसले डेंगु नियन्त्रणमा कठिनाइ भइरहेको छ ।’