७ बैशाख २०८१, शुक्रबार
Follow Us

२ लाख राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको लागि उत्कृष्ट पाँच कृति चयन

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७९, शनिबार १८:३४

लण्डन् । गैरआवासीय नेपाली संङ्घ, अन्तर्राष्ट्रिय कार्य समितिद्वारा प्रत्येक बर्ष गैरआवासीय नेपाली लेखकद्वारा लेखिएको सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने रु.दुई लाख राशिको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’का लागि पाँच उत्कृष्ट कृतिहरूको मुल्यांकन समितिले सिफारिश गरेको छ ।

जसमा चेतनाथ आचार्यको ‘रूइबा’ उपन्यास, नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ नियात्रा सङ्ग्रह, अजित उत्सवको ‘आकाश गंगाको किनार’ कविता सङ्ग्रह, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’ कविता सङ्ग्रह र काङमाङ नरेश राईको ‘तेप्लायु’ कविता सङ्ग्रह परेका छन् ।

आज सम्पन्न अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिको बैठकले उक्त सिफारिसलाई अनुमोदन गरी थप अध्ययन गरेर माथिका पुस्तकमध्ये सर्वोत्कृष्ट कृतिलाई यस बर्षको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने जानकारी गराएको छ ।

उत्कृष्ट पाँच मध्ये चेतनाथ आचार्यको उपन्यास ‘रूइबा’ले तामाङ संस्कृतिमा गहिरो पहुँच राखेको आभास हुन्छ । उपन्यासमा ‘न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको संघर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ । सोझा ब्यक्तिहरूलाई वैदेशिक रोजगारीको नाममा कसरी तस्करीमा समेत प्रयोग गरिन्छ भन्ने कुरा स्पष्ट रूपमा ‘रूइबा’मा उल्लेख भएको छ । यो उपन्यासले एउटा उठाउनै पर्ने मुद्दालाई आधिकारिक किसिमले उठाइएको छ ।

निकै सरल, कलात्मक र मिठासपूर्ण भाषामा लेखिएको नगेन्द्र न्यौपानेको नियात्राहरूको संग्रह हो- ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ । यसमा कतिपय ठाउँमा वैचारिक निबन्धको बान्की समेत भेटिन्छ । यस संग्रहभित्रका नियात्राहरू छिचोल्दै गर्दा पाठकलाई आफूले नदेखेको तर आफूजस्तै नेपालीहरूको अर्को समाजको भित्री तहमा पसेको रोचक अनुभूति हुन्छ । समाजभित्र पसेर त्यहाँको सुख, दुःख, प्राप्ति र छट्पटीलाई पर्गेल्ने कलामा यसका लेखकको क्षमता विलक्षण लाग्छ ।

वर्तमान समयमा लेखिँदै गरेका कवितामा आक्रोश बढी मुखर भएर कलात्मक ओज घट्दै गएको हो कि भन्ने आभास भैरहेका बेला काङमाङ नरेश राईको कविता-कृति ‘तेप्लायु’का सजिला तर कलात्मक कविताले निकै आसा जगाउँछन् । विभिन्न उपशीर्षकका संग्रहित यी कवितामा कविको सामाजिक, राजनैतिक चेतसंगै वृहत्तर मानवीय चेत पनि बलियो गरी प्रकट भएको छ ।

दीपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’मा जीवन, प्रेम र समाजसित जोडिएका स्मृतिजन्य सुकोमल भावहरूलाई कुशलतापूर्वक काव्यिक धरातलमा उभ्याइएका छन् । त्यसैले यस संग्रहका कविताहरू सरल भैकन पनि दार्शनिक चेतले भरिएका छन् । यो संग्रहले कविता क्षेत्रमा उहाँको उपस्थितिलाई महत्वपूर्ण बनाएको छ ।

अजित उत्सवको ‘आकाशगंगाको किनार’ का कविताहरूमा युगौंदेखि नेपाली समाजमा गुजुल्टिएररहेका विभेद, तिरष्कार अनि अन्यायको विरोधमा र पहिचानको खोजीमा संघर्षरत् आवाजहरू कतै गुनासा र कतै आक्रोश भएर अभिव्यक्त भएका छन् ।